
विराटनगर । विराटनगरमा शनिबार मध्यराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ नेपाल आयल निगमको कार्यालयनजिक प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार खार्जीबाट कञ्चनबारीतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा चालक विराटनगर–६ का अन्दाजी ५५ वर्षीय मोहमद अब्दुल कलामको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका कलामलाई उपचारका क्रममा नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । स्कुटर प्रहरी चौकी बरगाछीको नियन्त्रणमा छ ।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

























