विराटनगरमा जमिन भासिने जोखिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ४, आइतबार ०६:५६
हेटौँडामा जमिनमुनि भासिएको गाडी खोजी गरिँदै । फाइल फोटो

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासिने जोखिम बढेको छ । भौगर्भिक अध्ययनबाट विराटनगर सिंकहोल (जमिन भासिने)को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो ।

खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान सिंकहोलको उच्च सम्भावित जोखिममा छन् । जमिनको सतह कमजोर, जलनिकास प्रणाली अव्यवस्थित र उच्च जनघनत्वका कारण जमिन भासिने जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

Advertisement

यसअघि पनि विराटनगरका केही स्थानमा सामान्य जमिन फाट्ने, धसिने र घरको आँगनमा धाँजा पर्ने समस्या देखिको थियो । जमिनको सतहमुनिको संरचना कमजोर रहेको भन्दै खानी तथा भूगर्भ विभाग र भूगर्भीय विज्ञहरूले विराटनगरलाई विशेष जोखिमयुक्त क्षेत्रको रूपमा चिनाएका छन् ।

तराई, मधेश र पहाडी जिल्लामा जमिनको अवस्थाका बारेमा २०५५ सालदेखि अध्ययन थालिएको थियो । उक्त अध्ययनका आधारमा विराटनगर मात्रै नभएर नेपालका २४ स्थानमा जमिन भासिने सम्भावना रहेको पत्ता लागेको छ ।

गत वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा सडकमै गुडिरहेको गाडी ११ मिटर गहिरो खाल्डोमा भासिएको थियो । गाडी हालसम्म उक्त दलदलमै फसिरहेको भूगर्भविद् डाक्टर नारायण अधिकारीले जानकारी दिए । उनका अनुसार गुडिरहेको गाडी जमिनमा भासिनेलगायतका घटनाका बाबजुद जोखिमयुक्त स्थानहरूमा पर्याप्त चासो र सतर्कता देखिएको छैन ।

मोरङको विराटनगरसहित झापाको भद्रपुर र दमक, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुर, महोत्तरीको बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौं, नुवाकोट, चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीको बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीको टीकापुर र धनगढी तथा कञ्चनपुरको महेन्द्रनगरमा जमिन भासिने जोखिम रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । सिंकहोलको सम्भावित जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता एवं सवधानी अपनाउँदै पूर्वतयारीमा ध्यान दिनुपर्ने विभागले उल्लेख गरेको छ ।

पछिल्ला केही वर्षयताको तीव्र निर्माण कार्य, सडक विस्तार, भूमिगत नाला निर्माण र भू–उपयोगको अत्यधिक दबाबका कारण सिंकहोलको जोखिम बढेको विज्ञहरु बताउँछन् । वरिष्ठ भूगर्भविद् प्रा.डा. मेघराज धितालका अनुसार जमिनको माथिल्लो भाग कडा माटो वा ढुंगाले बनेको भए पनि भित्री भाग घुलनशील चट्टानबाट बनेको छ भने भूमिगत पानीको बहावले ती चट्टानहरू बिस्तारै घोलेर खोक्रो बनाउँछ।

जसका कारण जमिनको कुनै भागमा एक्कासि प्वाल पर्छ । भूगर्भभित्रको संरचना र पानीको प्रभावले जमिनको माथिल्लो भाग एक्कासि भासिनु वा प्वाल पर्नु नै सिंकहोल हो । धितालका अनुसार चुनढुंगा, चट्टान, गुफा र भित्री च्यानलका कारण पोखरा सबैभन्दा बढी जोखिममा छ ।

स्थानीय तहहरूले विगतमा भूगर्भीय समस्या देखिएपछि अनुगमनको प्रयास गरेका थिए । त्यसमा नियमितता र वैज्ञानिकता भने रहेन । भूगर्भको खतरा पहिचान भए पनि संघीय र प्रदेश सरकारबाट स्पष्ट नीति तथा प्रविधि अभावले समस्या समाधानमा बाधा पुगेको स्थानीय तहको गुनासो छ ।

खानी तथा भूगर्भ विभागकी महानिर्देशक मोनिका झाले जोखिमयुक्त क्षेत्रको विवरण विभागले स्थानीय तहमा पठाइसकेको बताइन् । जोखिम बढ्दै गएपछि जनचेतना फैलाउने कार्य सुरु गरिएको उनको भनाइ छ । जोखिमयुक्त क्षेत्रमा पोखरी खन्ने, पक्की संरचना निर्माण गर्ने, ड्रेनेज प्रणाली बिगार्ने काम नगर्न झाले सबैलाई अनुरोध गरिन् ।

विज्ञहरुले विकास निर्माणअघि अनिवार्य भूगर्भीय अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । झाले जोखिमयुक्त ठाउँको भूगर्भीय परीक्षण गरेर मात्रै संरचना निर्माण गर्नुपर्नेमा जोड दिइन् । मानवीय गतिविधिकै कारण सिंकहोलको जोखिम बढेको उनको भनाइ छ ।

जोखिम न्यूनीकरणका लागि विज्ञहरुको सुझावमा आधारित भएर विकास योजना अघि बढाउनुपर्ने बताइएको छ । नत्र हेटौँडाजस्तै घटना विभिन्न ठाउँमा हुनसक्ने विज्ञहरु बताउँछन् । ‘सिंकहोल निर्माणको प्रक्रिया प्राकृतिक हो । तर, मानव गतिविधिले जोखिम बढेको छ । सुरक्षित विकासका लागि भूगर्भीय अध्ययन अपरिहार्य छ,’ झाले भनिन् ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.