
काठमाडौं । मुलुकमा हाल पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भू–भाग, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा आज (आइतबार) बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा राति आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने जनाइएको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको छ ।
केही स्थानमा गर्मी बढ्ने सम्भावना पछि छ । मेघगर्जन र चट्याङसहितको वर्षा तथा गर्मीको प्रभाव दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा पर्न सक्ने जनाइएको छ ।

























