एजेण्डामा सरकार असफलः आङ्बो

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार १७:०४

विराटनगर । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारप्रति असन्तुष्टि जनाउँदै पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् ।

कोशी प्रदेशसभाको बर्खे अधिवेशनअन्तर्गत आज (आइतबार) बसेको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । विधान संशोधन, राजनीतिक स्थिरता र आर्थिक सुधारका मुख्य एजेण्डामा सरकार असफल भएको उनको भनाइ छ ।

उनले भने, ‘संसदीय मान्यताविपरीत बनेको सरकारको बोझ अहिले देशले बोकिरहेको छ । अर्को दललाई खुसी पार्दै हिँड्नु परिरहेको छ, यही हो राजनीतिक स्थिरता ?’

कमजोर अर्थतन्त्र सुधार गर्ने सरकारको प्रतिबद्धता अधुरै रहेको आङ्बोको भनाइ छ । ‘ूबलियो भनिएको सरकारले पूँजीगत खर्च गर्न सकेन, संचित कोषमा दुई खर्बभन्दा बढी घाटा छ’ उनले भने ।

नयाँ व्यवसायीहरूले कर्जा लिन साहस गर्न नसकेको, ऋण लिन चाहने मान्छे समेत नपाइएको अवस्थामा अर्थतन्त्र कसरी चल्ने भन्ने प्रश्न उनले गरे ।

गभर्नर नियुक्ति गर्न नसकेको, राष्ट्र बैंक ‘ग्रे लिष्ट’ मा परेको अवस्थालाई पनि उनले असफलताको उदाहरणका रूपमा प्रस्तुत गरे । ‘सरकारको औचित्य सकिएको छ’ उनले भने, ‘अब वैकल्पिक सरकारको खाँचो छ ।’

प्रदेश सरकारको भूमिकामा पनि उनले प्रश्न उठाए । ‘लगानी आएमात्र अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना हुन्छ । तर सरकार कहाँ देखिन्छ ?’ उनको प्रश्न छ ।

उनले हालैको बजेट खर्चको तथ्यांक प्रस्तुत गर्दै भने, ‘डेढ महिनामा पूँजीगत खर्च ३८.२८ प्रतिशत, चालू खर्च ५५ प्रतिशत, कुल ४०.२ प्रतिशत खर्च भइरहेको छ । यो आँकडाले सरकारको अवस्था प्रष्ट देखाउँछ ।’

संघीय र प्रदेश सरकारबीचको बजेट बाँडफाँटमा असमानता भएको उल्लेख गर्दै उनले भने, ‘संघमा २२ करोड दिन सकिन्छ भने प्रदेशलाई ११–११ करोड किन नदिने ?’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.