
विराटनगर । मोरङको रंगेलीमा यात्रुबहाक बसको ठक्करबाट सोमबार दिउँसो १ जना बालिकाको मृत्यु भएको छ । दुर्घटनालगत्तै यात्रुवाहक बसमा तोडफोड भएको छ ।
रंगेली–कानेपोखरी भित्री सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–७ निचामारी चोकमा दिउँसो २ः२० बजेतिर दुर्घटना भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिए । उनका अनुसार कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले ठक्कर दिँदा रंगेली–७ की १३ वर्षीया मीरा मण्डलको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी मण्डललाई उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ दिउँसो २ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनाको जानकारी पाउनसाथ घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको थियो ।
बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का अन्दाजी ५५ वर्षीय चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । बालिकाले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले बसमा तोडफोड गरेका छन् । तोडफोडबाट बसको अगाडिको सिसा फुटेको छ । प्रहरीका अनुसार दुर्घटनालगत्तै जम्मा भएको आक्रोसित भिड एक्कासि ढुंगामुढा र तोडफोडमा उत्रिएको थियो ।
तोडफोड हुन थालेपछि चालकले यात्रुसहितको बसलाई भगाएर इलाका प्रहरी कार्यालय रंगेली पुर्याएका थिए । तोडफोड हुँदा बसभित्र १०–१५ जना यात्रुसमेत रहेको प्रहरीले जनाएको छ । बसमा ढुंगामुढा र तोडफोड भए पनि कसैलाई चोटपटक भने लागेको छैन ।

























