
विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको बुँदा ८४ मा ‘तमोर–चिसाङ डाइभर्सन परियोजना’ अगाडि बढाउन पहल गर्ने विषय समेटिएको छ ।
तमोरमा जलाशययुक्त विद्युतीय परियोजना निर्माणको चर्चा सुरु भएयता तमोर चिसाङ डाइभर्सनको विषय उठिरहेको छ ।
संघीय संसदमा २०७५ सालमा तमोर-चिसाङ परियोजनाले प्रवेश पाएको थियो । तत्कालिन मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले परियोजनाको विषय संसदमा प्रवेश गराएका थिए । त्यसयता संघीय सरकारले पनि यो परियोजनालाई सम्बोधन गर्ने बताएकाे थियाे ।
आगामी आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा यो परियोजनालाई अघि बढाउन पहल गरिने उल्लेख छ । प्रदेशले धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गरी सडकसहितको तमोर–लेउती सुरुङमार्ग निर्माणका लागि पनि पहल गर्ने योजना समावेश गरेको छ ।
नेकपा एमाले कोशी प्रदेश अध्यक्षसमेत रहेका नेता घनश्याम खतिवडा तमोर चिसाङ-डाइभर्सन परियोजनाको सम्भाव्यता अध्ययन भइसकेको थियो । यो अध्ययनले पाँचथरको कुम्मायक गाउँपालिकामा पर्ने नावा खोला आसपास ड्याम बनाउन उपयुक्त हुने देखाएकाे छ ।
नावा खोलाआसपास हुँदै सुरुङ मार्फत लेटाङ नगरपालिका– १ लोखराबाट चिसाङ नदीमा पानी छाड्न मिल्ने देखिएकाे छ । यसरी निर्माण हुने सुरुङ मार्ग करिब २२ किलोमिटर हुनेछ ।
यसले सिचाई, खानेपानी, विद्युत उत्पादनलगायत बहुउपयोगी अवसर सृजना गर्ने खतिवडा बताउँछन् । ‘सम्भाव्यता अध्ययन गर्दा यो परियोजना अघि बढाउन सम्भव देखिएको छ, डीपीआर बनाउन बाँकी छ,’ उनले भने,‘ निर्माण गर्न सके बहुआयामिक फाइदा पुग्नेछ ।’

























