
आज म थाक्दिन
सगरमाथाको टुप्पो हेरेर
सपनाको उचाइ मापन गर्छु
धुलो लागेका बाटोहरूमा पाइला राखेर
भोलिको उज्यालो खोज्दै हिँड्छु ।
मेरा हरेक पसिना
एक पत्थर हो-
भोलिको दरबार बनाउने इँटा
अहिलेको अन्धकारले मलाई डर देखाउँछ
तर म जान्दछु-
सत्य सधैँ बिहानसँगै उदाउँछ ।
म भोलि रमाउँछु भनेर
आजको पीडा अँगाल्छु
किनकि म जान्दछु
सजिलो भोलिका लागि
आज अप्ठ्यारा डोबहरू पार गर्नुपर्छ ।
आजको घाम तिखो लाग्छ
आजको हिँडाइ पट्यार लाग्न सक्छ
हातको रेखाभरि पसिना बग्छ
तर यिनै थोपा–थोपा पसिनामा लुकेको छ
भोलिको सहजता, भोलिको मुस्कान ।
आज समयसँग लड्नुपर्छ
नीदसँग सम्झौता गर्नुपर्छ
र सपनाहरूलाई
पुनःपुनः सम्झाउनु पर्छ
जीवन एक खेत हो
आज छर्ने बीउहरू
भोलिको अन्न बन्छन्
माटो मोल्छु म
पसिनाले सिञ्चन गर्छु
र आशाले खनजोत गर्छु-
किनभने मलाई थाहा छ
सजिलो भोलि
कठिन आजकै उपज हो
किनभने म विश्वास गर्छु-
भोलि सजिलो हुन्छ
यदि आज गाह्रो हुँदासमेत म हार मानिन भने ।



















