
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ /०८३ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
भ्रष्टाचार विरुद्धको रणनीति, पर्यटन प्रवर्द्धन, शिक्षा क्षेत्रको सुधार, केचना–सगरमाथा जोड्ने द्रुतमार्ग, चतरा–चौरखर्क रेलमार्ग, तामोर–लेउती सुरुङ मार्गजस्ता योजनाहरू समावेश छन् ।
प्रदेशको नीति तथा कार्यक्रममा लिम्बू र मैथिली भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने नीति पनि घोषणा गरिएको छ । तर, विपक्षी दलहरूले यो नीति तथा कार्यक्रम पुरानै दोहोरिएको बताएका छन् । दुई ठूला दलको नीति तथा कार्यक्रमले कुनै उत्साह जगाउने नसकेको विपक्षीको तर्क छ ।
एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले नीति तथा कार्यक्रममा असम्भव र हास्यास्पद योजनाहरू समावेश गरिएको बताए ।
चतरा–चौरखर्क रेलमार्ग तथा विराटनगर क्षेत्रीय विमानस्थल बनाउने योजना प्रदेश सरकारको क्षमता बाहिरको भएको बताए । केचना–सगरमाथा द्रुतमार्गको परियोजना बैंक धरौटीमा सम्पन्न गर्न सकिने सम्भावना नभएको उल्लेख गर्दै उनले यो कार्यक्रम ‘असम्भवको पोका’ भएको टिप्पणी गरे ।
राईले बहुभाषिक र बहुजातीय प्रदेशको एकता जोगाउने भनाइलाई ‘नक्कली कुरा’ भन्दै आलोचना गरे । प्रदेशको नाम ‘कोशी’ राख्ने निर्णय वर्तमान सत्तारूढ गठबन्धनको जिम्मेवारी भएको र सरकार मुकुम्लुङको विषयमा अझै दोधार रहेको आरोप लगाए। ‘म अगाडि बढ्छु’ कार्यक्रम कार्यकर्तालाई भर्ती गर्न बनाइएको माध्यममात्र भएको उनले बताए ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङबो नीति तथा कार्यक्रममा नयाँपन नभएको बताए । विगतका विषय दोहोरिएको उल्लेख गर्दै उनले रुपान्तरणकारी योजना सरकारले नल्याएको बताए ।
उद्यमशीलता,उत्पादन वृद्धि,रोजगारी सिर्जना र प्रभावकारी सेवा प्रवाहको अभाव रहेको बताउँदै उनले सरकारबाट सुशासनको अपेक्षा गर्न नसकिने बताए ।
खुवालुङ क्षेत्रको विकासका विषयमा भने उनले यसअघि सुरु गरिएको कार्यको निरन्तरता मात्र भएको बताए । भाषाका लागि गैरसरकारी विधेयक दर्ता भैसकेको उल्लेख गर्दै उनले लिम्बू र मैथिली भाषालाई कामकाजको भाषाको रुपमा अघि बढाउँदा सहयोग गर्ने बताए ।
सत्तापक्षको बचाउ
विपक्षीले आलाेचना गरेकाे प्रदेशकाे नीति तथा कार्यक्रमकाे सत्ता पक्षले भने बचाउ गरेकाे छ । नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेशको नीति तथा कार्यक्रम ‘स्मार्ट’ र ‘सन्तुलित’ भएको दाबी गरे । कृषि, शिक्षा, महिला, सांस्कृतिक तथा असहाय वर्गलाई समेटिएको भन्दै उनले यसले प्रदेशलाई नयाँ दिशा दिने बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले यो पटकको नीति तथा कार्यक्रम अघिल्ला वर्षहरुको भन्दा फरक रहेको बताउँछन् । उनले बजेटमार्फत कार्यान्वयनमा भिन्नता देखिने विश्वास व्यक्त गरे ।
























