
काठमाडौं । नेपाली युवाहरूलाई लक्षित गरेर नैतिक नेतृत्व, अनुशासन, राष्ट्रिय चेतना, नागरिक जिम्मेवारी तथा अन्तर्राष्ट्रिय स्तरमा सक्षम बनाउने उद्देश्यले ७ दिने विशेष तालिम कार्यक्रम ‘कर्तव्यपथ अभियान’ सुरु गरिँदै छ ।
साउथर्न स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी, युनिभर्सिटी अफ थ्री जेनेरेसन र इगल थिंक ट्यांकसमेतको सहकार्यमा हुने कार्यक्रमले सहभागीहरूको शारीरिक, मानसिक, नैतिक तथा नेतृत्व क्षमतामा समग्र विकास गराउने उद्देश्य राखेको छ । मुलुक र समाज सेवामा समर्पित भावनासहित सुरक्षा, कूटनीति, नागरिक प्रशासन तथा संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा भविष्यमा योगदान दिने सक्षम युवाहरू तयार पार्न लक्षित गरिएको तालिम जेठ ७ गते बुधबारदेखि काठमाडौं सुरु हुँदैछ ।
स्नातक तहमा अध्ययनरत ४० जना छात्र–छात्राहरूलाई मातृभूमिप्रतिको जिम्मेवारी बोध गराउँदै विदेशमुखी प्रवृत्तिलाई सन्तुलन गर्न कार्यक्रमले युगान्तकारी प्रयास गर्ने अपेक्षा गरिएको छ । अनुशासन, नैतिकता, शारीरिक सहनशीलता, दूरदर्शी नेतृत्व र अन्तर्राष्ट्रिय शान्ति कार्यको ज्ञान प्रदान गर्दै युवाहरूलाई समग्र व्यक्तित्व विकासतर्फ अभिमुख गराउने लक्ष्य यस तालिमले लिएको छ।
कार्यक्रम ४ मुख्य आधारस्तम्भहरूमा आधारित हुनेछ । पहिलो, सुरक्षा सचेतनाअन्तर्गत सहभागीहरूलाई राष्ट्रिय सुरक्षा संरचना, प्रयोगात्मक सुरक्षा सिपहरू, शारीरिक दक्षता र अनुशासनको ज्ञान प्रदान गरिने छ ।
दोस्रो, मानव संसाधन तथा नैतिक नेतृत्व शीर्षकमा नागरिक कर्तव्यबोध, टोलीमा नेतृत्व गर्ने सिप, नैतिकता र इमानदार नेतृत्व विकासमा जोड दिइने छ। तेस्रो, कूटनीति तथा संयुक्त राष्ट्र संघीय शान्ति मिसन स्तम्भअन्तर्गत कूटनीतिक शिष्टाचार, अन्तर्राष्ट्रिय वार्ता, शान्ति संचालन प्रणाली र अन्तर संस्कृतिक नेतृत्व विकासका पक्षहरूमा प्रशिक्षण दिइनेछ।
चौथो, साहसिक, जीवन रक्षा सिप तथा सहनशीलता निर्माणअन्तर्गत साहसिक क्रियाकलाप, मानसिक सुदृढता, बाहिरी वातावरणमा बाँच्न सक्ने सिप र समस्या समाधान गर्ने कौशलमा सहभागीहरूलाई प्रशिक्षण दिइने छ । प्रशिक्षण अवधिभर सहभागीहरूलाई अनुभवी सुरक्षा विज्ञ, वरिष्ठ कूटनीतिज्ञ, प्राज्ञिकविद् र संयुक्त राष्ट्र संघीय पूर्वशान्ति सैनिक तथा प्रहरी अधिकारीहरूले प्रशिक्षण दिने छन् ।
निःशुल्क तालिमको अभिन्न हिस्सा स्वरूप सुरक्षा अध्ययन भ्रमण गराउने कार्यक्रम समेत रहेको छ । यसअन्तर्गत नेपाली सैनिक तालिम प्रतिष्ठान खरिपाटी, भक्तपुर, गरुड सेक्युरिटी प्रा.लि महाराजगञ्ज, काठमाडौं र अल्टिमेट भेन्यु नेपाल, कपन अवलोकन गराउने योजना रहेको छ।
तालिममा सबै स्रोत व्यक्ति तथा विज्ञहरूले आफ्नो समय र सिप निःस्वार्थ स्वेच्छिक रूपमा अध्यापन गर्ने छन् । आर्थिक कठिनाइका कारण कुनै पनि विद्यार्थी पछि नपरोस् भन्ने उद्देश्यले सबैका लागि तालिम निःशुल्क गरिएको हो ।
तालिमका सहभागीको जीवन वृत्तान्तसमेत प्रभावशाली बनोस् भन्ने उद्देश्यले प्रमाणपत्र प्रदान गरिने छ । साथै, तालिम अवधिमा इगल थिंक आई क्वीज कन्टेस्ट पनि अयोजना गरिने छ । जसअन्तर्गत प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले पुरस्कार प्राप्त गर्ने छन् ।
इच्छुक प्रायोजक वा दाताहरूले प्रतियोगिताका विजेताहरूलाई उचित पुरस्कार प्रदान गर्न सक्ने बताइएको छ । इगल थिंक ट्यांकका प्रबन्ध निर्देशक तथा पूर्वसैनिक कूटनीतिज्ञ ब्रिगेडियर जनरल रामचन्द्र खत्री (अवकाशप्राप्त)ले आजको जटिल सुरक्षा, कूटनीति र विश्व शान्ति व्यवस्थामा नेपालले अनुशासित, जानकार एवं नैतिक प्रतिबद्धतायुक्त नयाँ पुस्ताका नेतृत्वहरू तयार गर्न आवश्यक रहेको बताए ।
‘कर्तव्यपथ केवल तालिम मात्र नभएर यो एउटा अभियान हो,’ उनले भने, ‘जसले हाम्रा विद्यार्थीहरूमा राष्ट्रिय गौरव, अनुशासन, नैतिकता र सेवा भाव जगाउनेछ।’ स्थानीय सरकार तथा शैक्षिक संस्थाहरूलाई आफ्नो युवा सशक्तिकरण, नागरिक शिक्षा तथा नेतृत्व विकास कार्यक्रमलाई प्राथमिकतामा राख्न खत्रीले आह्वान गरेका छन् । यस प्रकारको तालिम सञ्चालनका लागि सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको उनले बताए ।























