
काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय गिजोलिँदै गएको छ । यही कारण सत्तारुढ मुख्य दुई दल एमाले र कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको भनिएको हिजो (सोमबार) को मन्त्रिपरिषद् बैठक अन्तिम समयमा बस्न सकेन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट बनेका छन् । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा समेत देउवा गएनन् । मन्त्रिपरिषद् बैठकअघि गभर्नर नियुक्तिकै विषयमा छलफल गर्न भन्दै ओलीले देउवालाई बालुवाटारमा बोलाएका थिए ।
गत चैत ११ मा गभर्नर सिफारिश समिति गठन भए पनि अहिलेसम्म एक पटक पनि बैठक बसेको छैन । समिति नै दुई पटक पुनर्गठन भइसकेको छ । पछिल्लो पटक कांग्रेसले योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेको छ । तर यसमा ठोस सहमति जुट्न सकेको छैन ।
पौडेलको विषयमा सर्वोच्च अदालतमा परेको निवेदन सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका थिए । गत चैत २४ मा गभर्नर महाप्रसाद अधिकारीको अवकासपछि पद रिक्त छ ।
























