कानेपोखरी दुर्घटनाः ‘भीआईपी’ संलग्न घटनाको छानबिनमा बेवास्ता

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ६, मंगलबार १६:२८

विराटनगर । मोरङको कानेपोखरीमा सोमबार भएको दुर्घटनाको छानबिन गर्न प्रहरीले बेवास्ता गरेको छ । ‘भीआईपी’ चढेको गाडी र नेपाल प्रहरीका बहालवाला अधिकृत सवारी दुर्घटना भएकाले अनुसन्धानमा प्रहरीको उदासीनता देखिएको हो ।

कानेपोखरी गाउँपालिका–७ मा बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको डीएसपीेले चलाएको कार विपरीत दिशाबाट आउँदै गरेको सांसदहरु सवार बीएई १४०६ नम्बरको कारसँग ठोक्किएको थियो ।

पाँचथरकी प्रदेश सांसद कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल तथा मोरङकी नेकपा एकीकृत समाजवादी सांसद विद्या चाम्लिङ एउटै गाडीमा विराटनगर आउँदै गरेका बेला विराटनगरबाट झापा जाँदै गरेका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको गाडीसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मानवीय क्षति भएन । दुई वटै सवारी अहिले प्रहरी नियन्त्रणमा भए पनि घटनाको अनुसन्धानका लागि कसैलाई नियन्त्रणमा लिइएको छैन । सांसद सवार गाडीका चालक भेषराज श्रेष्ठ र अर्काे गाडी चालक प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्कालाई प्रहरीले छाडेको छ । उनीहरुसँग घटनाबारे सोधपुछसहित अनुसन्धानको काम प्रहरीले गरेको छैन ।

दुर्घटनामा परेकी सांसद तथा गाडी धनी श्रेष्ठ डीएसपीको गल्ती भएका कारण दुर्घटना भएको बताउँछिन् । क्षतिग्रस्त भएको गाडी डीएसपीले नै बनाउनुपर्ने उनको भनाइ छ । गाडीका विषयमा छलफलका लागि प्रहरीले दुवै पक्षलाई बुधबार बोलाएको छ । घटनाबारे ‘बुझ्ने काम भइरहेको’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

सोमबारै मन्त्री सवार गाडीलाई ठक्कर दिएपछि प्रहरीले सिटी सफारी चालकलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ गरी प्रक्रिया पुर्याएर प्रहरीले छाडेको छ ।

उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम सवार प्रदेश १–०४–००१ झ ०१०९ नम्बरको गाडीलाई प्रदेश १–०२–००४ ह ५७६७ नम्बरको सीटी सफारीले ठक्कर दिएको थियो ।

प्रहरीले सफारी चालक विराटनगर–३ का ४५ वर्षीय गणेश दाहाललाई पक्राउ गरेको थियो । गाडीको फुटेको सिसा बनाउने सर्तमा उनलाई प्रहरीले छाडेको छ ।

प्रश्न उब्जिएको छ, ‘सर्वसाधारणको गल्तीका कारण दुर्घटना भए सजाय, कारबाही प्रक्रिया र क्षतिपूर्तिको कुरा अनि भीआईपीहरु संलग्न भए अनुसन्धानै नगरी छुट ?’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.