
काठमाडौं । सरकारले प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको हो ।
पौडेल नेपाली कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसबाट प्रतिनिधिसभाकाे चितवन निर्वाचन क्षेत्र नम्बर– १ मा उम्मेदवार बनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित हुँदा एमाले उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डे र कांग्रेस उम्मेदवार पौडेल तेस्रो भएका थिए ।
प्रतिनिधिसभामा पराजित भएका पौडेलले राष्ट्र बैंक नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् ।
गभर्नरको पदावधि सकिन एक महिना अघि नै गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान छ । तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति नहुँदा रिक्त भएको करिब दुई महिनापछि गभर्नर नियुक्त गरेको हो ।
मंगलबार दुई दलबीचको सहमति पछि बसेको गभर्नर सिफारिस समितिले पौडेलसँगै डेपुटी गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । मन्त्रीपरिषद्ले पौडेलको नाम अनुमोदन गरेको हो ।

























