
विराटनगर– प्रदेशसभाको साताैं अधिवेशनकाे तेस्रो बैठकको शून्य समयमा सांसदहरूले जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । विशेषगरी विद्युत आपूर्ति अवरुद्ध, बाढी र त्यसको जोखिमका विषय उठाएका छन्।
मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले पटक–पटक बत्ति जाने समस्याले जनजीवन प्रभावित भएको र बाढीका कारण आम नागरिकको दैनिकी अस्तव्यस्त बनेको जनाए ।
नेपाली काँग्रेसकी सांसद सोभा चेम्जोङले अघोषित लोडसेडिङका कारण आम नागरिक, व्यवसायी र कृषकहरू मर्कामा परेको बताइन् । उनले मौसमका कारण देखाउँदै विद्युत प्राधिकरणले जवाफ दिए पनि यसको मुख्य जिम्मेवारी सरकारको नै हुनुपर्ने धारणा राखिन् । बत्ती जानुका कारण उद्योग सञ्चालनमा समस्या आएको र कतिपय कच्चा पदार्थ नष्ट भएको उल्लेख गरिन् ।
राप्रपाकी सांसद सविना बजगाईंले पनि बिना सूचना बत्ती जाने समस्या गम्भीर बन्दै गएको बताइन् । उनले मध्यरातमा बत्ती नहुँदा नागरिक शीतल खोज्दै सडकमा हिँड्नुपर्ने अवस्था आएको गुनासाे गरिन् । उद्योगमा कच्चा पदार्थ नष्ट हुँदा लाखौं रुपैयाँको क्षति भएको भन्दै उनले विद्युत प्राधिकरणसँग समन्वय गरी समाधान निकाल्न सरकारलाई आग्रह गरिन् ।
एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री कमलप्रसाद जबेगुले पाँचथरको हेवाखोलामा पाँच वटा सडक पुल र दुईवटा झोलुङ्गे पुल बगाएर सडक अबरुद्ध भएको बताए । उनले फालेलुङ गाउँपालिकामा ३३६ घर विस्थापित भए पनि अहिलेसम्म राहत नपाएको बताए । जबेगुले “फालेलुङको जनता प्रदेश सरकारको होइन?” भन्दै विभेद गरिएको आरोप लगाए ।
“विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम वितरण गर्न आठ महिना किन लाग्यो?” भन्दै उनले प्रश्न उठाए । उनले केही ठाउँमा कृत्रिम बाढी पहिरो देखाएर रकम बाँडिएको आरोप लगाउदै उनले भने “यसलाई म नीतिगत भ्रष्टाचार भन्छु,” उनले भने ।
नेकपा एमालेकी सांसद मिना श्रेष्ठले सुनसरीको ईटहरी क्षेत्रमा हरेक वर्ष आउने बाढीको दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरिन् ।
























