
काठमाडौं । यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत वर्षजस्तै यो वर्ष पानी बढी पर्ने साथै तापक्रम पनि सरदरभन्दा बढी हुने देखिएको हो ।
विभागले आज (बुधबार) ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यो जानकारी दिएको हो । वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थान विशेष अनुसार फरक–फरक रहने छ ।
स्थान अनुसार सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ र ३५ देखि ४५ प्रतिशतसम्म बढी रहेको विभागले जनाएको छ ।
विभागका अनुसार यस वर्ष प्रि–मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा भइसकेको छ । यस वर्ष नेपालको पूर्वी भागमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै तथा पश्चिममा औसतभन्दा धेरै वर्षा हुने जनाइएको छ।
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्छ ।
हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ ।

























