सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा युवकको शव भेटियो

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ७, बुधबार १३:५१

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ खद्रा चोकस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा १ जना युवकको शव भेटिएको छ ।

प्रहरीका अनुसार ग्रामथान–७ का २४ वर्षीय सुमन चौधरी नहरको पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् । स्थानीयले शव देखेपछि बुधबार बिहान ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय हरैँचाबाट सई नीरबहादुर खड्का नेतृत्वको टोली तत्काल घटनास्थल पुगेर हेर्दा उत्तानो परेको अवस्थामा शव भेटिएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।

खत्री नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएको छैन । मादक पदार्थ सेवन (मापसे) गरेर नहरमा खसेपछि उठ्न नसक्दा पानीमा डुबेर चौधरीको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

चौधरी गाउँमा लागेको मेला भर्न भनेर मंगलबार दिउँसो घरबाट हिँडेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । मेला भरेर साँझ घर फर्किएको पाइएको उनको भनाइ छ ।

त्यसको केहीबेरमा घरबाट पुनः हिँडेका चौधरी राति ९ बजेतिर नजिकैको पसलमा भोला गुट्खा किन्नलाई गएको समेत प्रहरीले पत्ता लगाएको छ । तर, भोलिपल्ट बिहान डुबिरहेको अवस्थामा उनी मृत फेला परेका हुन् ।

चौधरीको मृत्युको कारण खुल्न बाँकी रहेको जानकारी डीएसपी जोशीले दिए । थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.