
विराटनगर । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने नेपाल प्रहरीकी असई (प्रहरी सहायक निरीक्षक) कुन्जाङ छोपेल शेर्पालाई कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले बधाई दिएका छन् ।
शेर्पा गत सोमबार बिहान ८ः५६ बजेतिर सगरमाथाको चुचुरोमा पुगेकी थिइन् । उनले सफलतापूर्वक सगरमाथाको आरोहण गरेर चुचुरोमा नेपाल र नेपाल प्रहरीको झण्डा फहराइन् ।
शेर्पालाई डीआईजी कार्कीले बधाईका साथै सफलताको शुभकामना पनि दिएका छन् । आरोहण सम्पन्न गरेर उनी जेठ ६ गते सगरमाथा ‘बेस क्याम्प’मा आइपुगेकी थिइन् ।
उनलाई प्रदेश प्रहरी कार्यालयको तर्फबाट इलाका प्रहरी कार्यालय नाम्चेले स्वागत गरेको थियो । सोलुखुम्बु नै घर भएकी शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालयको साईबर ब्युरोमा कार्यरत छिन् ।


























