
विराटनगर । कोशी प्रदेशका सांसद (प्रदेशसभा सदस्य)हरूले विपद्को समयमा क्षतिग्रस्त भएका संरचनाहरूको मर्मत–सम्भारका लागि प्रदेश सरकारले बजेटको उचित व्यवस्था नगरेको भन्दै आक्रोश पोखेका छन् ।
विपद्को लामो समयसम्म सरकारले बेवास्ता गरेपछि सांसदहरु आक्रोशित भएका हुन् । कोशी प्रदेशसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विपद् व्यवस्थापनमा प्रदेश सरकार गम्भीर नभएको आरोप लगाए ।
इलामकी सांसद खिनु लङ्वाले विपद्का कारण भत्किएका संरचनाहरूको मर्मत सम्भारका लागि विपद् कोषबाट समेत पहल नहुँदा जनजीवन प्रभावित भएको बताइन् । उनका अनुसार इलामको मयुँ खोलामा पुल भाँचिदा ३ वटा पालिकाको आवागमनमा गम्भीर समस्या आएको छ ।
उनले तीव्र रूपमा पुल मर्मत गरी यातायात सुचारु गर्न सरकारसँग माग गरिन् । त्यस्तै, अघिल्लो विपद्का कारण सन्दकपुर क्षेत्र संकटग्रस्त घोषणा गरिए पनि क्षति भएका संरचनाहरूको पुनःनिर्माणका लागि आवश्यक बजेट समेत नछुट्याइएको उनको आरोप छ ।
उदयपुरकी सांसद सम्झना तामाङ थाम्सोहाङले २०८१ साल असोज १२ गते आएको बाढीले प्रभावित जनताका समस्या अझै समाधान हुन नसकेको बताउँदै सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरिन् । उनका अनुसार विपद्का कारण विद्यालयहरूको अवस्था नाजुक भएसँगै पठनपाठनमा गम्भीर बाधा पुगेको छ।
विद्यालयको सन्दर्भमा पटक–पटक समाजिक विकासमन्त्री समक्ष कुरा राख्दा पनि सुनुवाइ नभएको गुनासो उनको छ । ‘मैले समाजिक विकास मन्त्रीलाई १० पटक भेटेर विद्यालय मर्मतको माग राखें,’ उनले भनिन्, ‘विपद्का कारण क्षति पुगेका विद्यालयहरूको अवस्था बारे पटक–पटक जानकारी गराए पनि उहाँले कुरा सुन्नु भएन ।’
























