
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पतीको खोजी सुरु गरेको छ। प्रेमको प्रतीक मानिने ढुकुरको नाम दिएर नगरपालिकाले उत्कृष्ट दम्पतीको खोजी सुरु गरेको हो ।
सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईंका अनुसार पालिकाले हरेक वडाबाट १–१ जोडी दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गर्नेछ ।
सुन्दरहरैँचामा १२ वटा वडा छन् । हरेक वडाका उत्कृष्ट ढुकुर जोडीको तस्बिर वडा कार्यालयमा १ वर्षसम्म राखिने उनले बताए ।
‘पारिवारिक सम्बन्ध कमजोर हुनेहरुलाई न्याय निरुपण गर्ने, अन्य हिसाबले काउन्सिलिङ गर्ने कुरा एउटा पक्ष भयो,’ उनले भने, ‘समाजमा राम्रो गर्नेलाई प्रोत्साहित गरियो भने कमजोरी गर्नेमा पनि चेतना आउँछ भन्ने हिसाबले ढुकुर जोडी सम्मान सुरु गर्दैछौं ।’
ढुकुर जोडी छनोटका लागि नगरपालिकाले १२ वटा मापदण्ड बनाएको छ ।
१, कम्तीमा विवाह भएको १० वर्ष पुरा गरेको हुनु पर्ने ।
२, श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनु पर्ने ।
३, विवाह दर्ता गरेको हुनुपर्ने ।
४, स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।
५, छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।
६, नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।
७, विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।
८, निरन्तर रूपमा संयुक्त परिवारमा बुवा वा आमा र सासू वा ससुरासँग बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।
९, बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।
१०, हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरूमा वा समाजमा श्रीमान्श्री-मतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।
११, निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दा बढी नबसेको ।
१२, माथि उल्लेखित सर्तहरू पूरा हुने कागजात फारमसहित पेस गर्नुपर्ने ।
पालिकाले आज (बुधबार) सार्वजनिक गरेकाे सूचनामा निवेदन दिनका लागि १० दिनकाे समय दिइएकाे छ । निवेदन परेपछि नगरपालिकाको महिला तथा बालबालिका शाखाले अध्ययन गर्नेछ । अध्ययनपछि उत्कृष्ट जोडीलाई नगद, प्रशंसापत्रसहित सम्मान गर्ने योजना रहेको गुरागाईंले बताए ।


























