
विराटनगर । कोसी प्रदेशसभाका सांसद इसरायल मनसुरीले प्रदेशसभा बैठकको शून्य समयमा उठाइने विषयहरूको प्रभावकारिताप्रति प्रश्न उठाएका छन् । उनले समयको सदुपयोगबारे पुनर्विचार गर्नुपर्ने बताए ।
आज (बिहीबार) प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद मन्सुरीले शुन्य समयमा उठाइएका विषयको कुनै अर्थ नहुने भए समय खेर नफाल्न आग्रह समेत गरे ।
उनले भने ‘जनताको समस्या समाधान हुने होइन, केवल जनतालाई सुनाउने मात्रै काम हुन्छ, जनता खुसी हुन्छ, फेरि प्रश्न उठाउँछ ।’
उनले हालैको बेमौसमी वर्षा, हुरी र बतासले किसानहरूलाई पारेको ठूलो क्षतिको प्रसंग उठाउँदै प्रदेश सरकारको निस्कृयताप्रति पनि असन्तुष्टि जनाए ।
कृषि क्षेत्र गम्भीर संकटमा हुँदा समेत कृषिमन्त्री, सिडिओ कार्यालयमा दुःख पोख्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
विपद व्यवस्थापनको निर्णय प्रक्रियामा कृषि क्षेत्रलाई बेवास्ता गरिने गरेको गुनासो गर्दै उनले भने, शून्य समयमा उठाइएका सवालहरू समाधान हुँदैनन् भने विषय उठाउनुको कुनै अर्थ रहँदैन ।’

























