
काठमाडौं । पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
‘आउटलुक इन्डिया’ का अनुसार दिल्ली पुलिसले आईएसआईको स्लीपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला काम गर्ने गरी) विरुद्ध चलाएको अपरेशनका क्रममा दुई जना पक्राउ परेका थिए । तीमध्ये एक जना नेपाली नागरिक अन्सरुल मियान अन्सारी भएको समाचारमा उल्लेख छ ।
सन् २०२५ को सुरुवात्देखि चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ गरेको जनाइएको छ । दिल्ली पुलिसले हालै अदालतमा अभियोगपत्र दायर गरेपछि यो घटना सार्वजनिक भएको हो ।
भारतीय समाचार एजेन्सी ‘एसियन न्यूज इन्टरनेसनल’ ले आईएसआईका तर्फबाट उनी दिल्लीमा रहेको दाबी गरेको छ । उनी पाकिस्तान जान लागेका बेला पक्राउ परेको र हाल दुवै जना अहिले तिहाड जेलमा रहेको समाचारमा उल्लेख गरिएको छ ।
भारतीय सञ्चार माध्यमले उल्लेख गरेअनुसार, अन्सारी कतारमा रहँदा ट्याक्सी चालक थिए । त्यहाँ उनले आईएसआईको ह्याण्डलरलाई भेटेको र पछि पाकिस्तानमा गएर तालिम लिएको दाबी गरिएको छ ।

























