
जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । जनमत पार्टीले पुरानालाई फिर्ता बोलाएर नयाँ २ जनालाई मन्त्री बनाएको छ ।
नवनियुक्त मन्त्री वसन्त कुशवाहा र संजय यादवले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कुशवाहाले उद्योग वाणिज्य तथा पर्यटन र यादवले वन मन्त्रीको शपथ लिएका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराइन् । मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतका २ मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
यसअघि जनमतले त्रिभुवन साहलाई वन र सकील अली मियाँलाई उद्योग मन्त्री बनाएको थियो । पार्टीले भने नियमित प्रक्रिया अनुरुप मन्त्री हेरफेर गरिएको जनाएको छ ।
शपथग्रहण लगत्तै नवनियुक्त मन्त्रीद्वयले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । यादव सिरहाबाट निर्वाचित र कुशवाहा समानुपातिक सांसद हुन् ।
























