सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार १४:३३

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ ।

कार्ययोजनामा ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने उल्लेख छ । अहिले नेपालमा ६८ वर्ष पूरा भएका सबै ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् । यसलाई बजेटबाटै ७० वर्ष कायम गर्ने तयारी सरकारले गरेको हो ।

भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत कार्ययोजनामा उल्लेख छ । यस्तो काम १ वर्षभित्रै गरिसक्ने समेत कार्ययोजनामा लेखिएको छ । यसबाट भत्ता पाउने उमेर ७० वर्ष कायम भएको हुने र राष्ट्रिय परिचय पत्रमा आवद्ध भएको हुने सम्भावित नतिजामा उल्लेख छ ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउने भनेको छ । यसका लागि भने समय सीमा तोकिएको छैन । आगामी बजेटबाट सामाजिक सुरक्षा भत्ताको दुरुपयोग, दोहोरोपन रोक्न समेत प्रयास गर्ने अर्थ मन्त्रालयको तयारी छ ।

अहिले साविकको कर्णाली अञ्चलमा पर्ने जिल्लाका नागरिक र देशभरिका दलित नागरिकले ६० वर्ष उमेर पुगेसँगै वृद्धभत्ता पाउँछन् । उनीहरूलाई मासिक २६ सय ६० रुपैयाँ दिने गरिन्छ । विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका महिलाले समेत सोही दरमा मासिक भत्ता पाइरहेका छन् ।

पतिको मृत्यु भएका जुनसुकै उमेरका महिलाले समेत सो दरमा मासिक भत्ता पाइरहेका छन् । यसबाहेक अपाङ्गता भएका, लोपोन्मुख आदिवासी जनजाती र तोकिएका क्षेत्रका बालिबालिकालाई समेत मासिक भत्ता दिने गरिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.