भग्न समयको विलाप

Share this
646shares
मुलुकी खबर
नवीन अभिलाषी
clock२०८२ जेठ १०, शनिबार ११:४५

नाघेर आफ्नो ‘टेरिटोरी’
मान्छे खान पल्केको बाघले जरुर थुनिनुपर्छ खोरभित्र ।

यत्ति त स्मरण हुनुपर्ने हो-
रगतले रंगिएका सिंहासनहरुबाट
थुतेर गिलोटिनमा निर्ममतापूर्वक काटिन्छन् – ‘लुईस सोह्रौँ’हरु ।
त्यसैले यस्ता मृत शासकहरु
बढि सुरक्षित हुन्छन् – इतिहासका धुलाम्मे पानाहरुभित्रै ।

सार्वभौम भैसकेका मानिसको विवेकभित्र
रैतीको दासत्व खोज्दै सडकमा निस्किने दुस्साहसले मात्र
धुलोकै आँधीमा निसासिनुपर्ने हुनसक्छ ।

किनकी-
इतिहासले लेखेर राखेको छ,
तानाशाह तलवारको धारले लेखिएको शासकको गीत
यहाँ कसलाई बिर्साउने प्रयास गरिदैछ ?
निरोको बाँसुरी कतातिर गुञ्जिरहेछ अझै ?
हिटलरका खुट्टाहरु कुन गल्लीतिर घिस्रिरहेछन् ?
हामीलाई एक एक थाहा छ,
चंगेजका अश्वारोही कुन पदचिन्ह छोडेर गएका थिए ?

तिमीले सिँगार्न खोजेका दरबारहरू,
त्यो कुनै समयका भग्नावशेषका कथाहरू मात्र हुन् ।
तिमीले उचाल्न खोजेको राजदण्ड
कुनै दिन भुइँमा लडेर चूर्ण भैसकेको भावुक अतित मात्र हो ।

स्यालकै पनि त उखान छ,
कि काल आयो भने उ शहर पस्छ ।
आफूलाई बाघ सम्झियोस् या स्याल
निसन्देह, यतिबेला सुरक्षित जङ्गल मै हुन सक्छ उ ।

किनभने,
खुनखोरले कति समय लुकाउन सक्छ रगतको गन्ध ?
इतिहास बिर्सिए पनि समयले
कहिल्यै बिर्सिन सक्दैन अत्याचारका पाइलाहरु ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.