
खुशी भएर मात्र बाँच्न कहाँ सकिँदो रैछ र सधैँ
जिन्दगीको यात्रा एकनास कहाँ हुँदो रैछ र सधैँ
रहरका चाङहरु बाध्यताको लगामले निमोठेर
अरुकै खुशीको लागि गुलाम बन्नु पर्ने रैछ सधैँ
उसकै छायाँ अघि पछि लुकामारी खेल्दै रमाए पनि
अन्जानमा भेटिएको ऊ कहाँ आफ्नै हुँदो रैछ र सधैँ
गन्तव्य विहीन यात्रा पनि कसैलाई त प्यारो हुने रैछ
खै किन पीडा बुझ्छु भन्नेले नै गर्दा रहेछन् घात सधैँ
रात जति नै रंगीन भए पनि आखिर पर्खाइ बिहानीकै
सुन्दर फुलमा पनि मिठो सुगन्ध कहाँ रहिरहन्छ र सधैँ
फर्केर फेरि यहाँ दुनियाँ बुझाउनु छ उसैलाई अझै
किनकि बिना स्वार्थको सम्बन्ध कहाँ टिक्छ र सधैँ
-खाँदबारी, संखुवासभा



















