
विराटनगर । मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गरिरहेको विराटनगर खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
आज (शनिबार) बिहान ७ः१५ बजेतिर सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ । मतदाताले लाइनमा बसेर पालो पर्खिदै मत दिइरहेका छन् । दिउँसो २ बजेसम्ममा २ हजार ७ सयभन्दा बढी मत खसिसकेको छ ।
मानगढ खानेपानीको नयाँ नेतृत्व चयनका लागि दोस्रोपटक मतदान भएको हो । यसअघि भएको मतदानले आधिकारिकता नपाएसँगै उच्च अदालत विराटनगरको आदेशपछि दोस्रो पटक मतदान भएको हो ।

विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा मतदान जारी रहेको छ । निर्वाचनमा ५ हजार ९ सय ८८ जना मतदाता छन् ।
यसअघि २०८१ जेठ १९ मा मतदान भएको थियो । निर्वाचन विवादित भएपछि मुद्दा अदालतमा पुगेको थियो । अदालतले पुन मतदान गर्नुपर्ने फैसला गरेपछि आज पुनः मतदान भएको हो ।
मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान स्थलमा १२ वटा बुथ रहेका छन् । समितिको अध्यक्षमा लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानलै मैदानमा छ ।
भट्टराई र घिमिरे नेकपा (एमाले)का उम्मेदवार हुन् । भट्टराई विनोद ढकाल समूहको उम्मेदवार हुन् । घिमिरे एमाले संस्थापन पक्षको उम्मेदवार हुन् । चापागाईं नेपाली कांग्रेसको उम्मेदवार हुन् ।
यसअघिको निर्वाचनमा एमालेको आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै एमालेले महानगर कमिटीका तत्कालीन अध्यक्ष सागर थापालाई जिम्मेवारीबाट हटाएको थियो । थापा अहिले एमालेको मोरङ उपाध्यक्ष निर्वाचित भइसकेका छन् ।

२०८१ जेठ १९ गते भएको मतदान विवादित बनेपछि खसेको मतलाई नै गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत ३ जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । टंकप्रसाद खतिवडासमेत ३ जनाले पुनः मतदानको मागसहित रिट दायर गरेका थिए ।
गत फागुन २६ गते उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न आदेश दिएको थियो । अदालतले २०८१ जेठ १९ जेठ बिहान ९ बजेको अवस्थाबाट पुनः प्रक्रिया सुरु गर्न आदेश दिएको थियो । अदालतले उम्मेदवार र मतदाता पुरानै रहने र मतदान मात्रै पुनः गर्नुपर्ने भनेको हो ।




































