
काठमाडौं । भारतमा एक साताअघि नै मनसुन प्रवेश गरेको छ । सरदरभन्दा साताअघि भारतमा मनसुन प्रवेश गरेको हो । अबको करिब एक साताभित्र कोशी प्रदेश हुँदै नेपालमा पनि मनसुन भित्रने जनाइएको छ ।
भारतको केरलामा सामान्यतया १ जुनमा र नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्दछ । तर यस वर्षको मनसुन भारतमा २४ मे अर्थात् जेठ १० गते नै भित्रिएको छ ।
भारतको मौसम विभागले मनसुन भारतको केरलामा प्रवेश गरेको र राजधानी नयाँदिल्ली सहितका विभिन्न ठाउँमा भारी वर्षा भएको जनाएको छ । भारतको मौसम विभागले २४–२६ मेसम्म भारी वर्षाको पूर्वानुमान गर्दै सतर्कता अपनाउन भनेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा १६ वर्षयताकै छिटो मनसुन भित्रिएको छ । वर्षा भएका स्थानमा गर्मीबाट राहत मिलेको छ तर हावाहुरीसँगैको वर्षाका कारण यातायात सेवा प्रभावित भएको छ ।
भारतमा मनसुन भित्रिएको सामान्यतया १० देखि १५ दिनभित्र नेपालमा मनसुन भित्रिने मौसमविदहरु बताउँछन् । यस वर्ष भारतमा सरदर मितिभन्दा एक हप्ता अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि मनसुन आउन ढिलो नहुने वरिष्ठ मौसमविद मीनकुमार अर्यालको भनाइ छ ।
बंगालको खाडी हुँदै नेपाल आउने मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्दछ । तर अहिले पनि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ ।
यसको प्रभावले नेपालका विभिन्न स्थानमा केही दिनयता दिनहुँ पानी परिरहेको छ । नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिएर २ अक्टुबरमा बाहिरिने गर्दछ । मनसुन भित्रिने र बाहिरिने गति सामान्य भएमा नेपालमा ११२ दिनसम्म मनसुन रहन्छ ।

























