
सुक्रे १० वर्षको हुँदा बाजे बित्नुभएको थियो । उनका लागि आमा–बाबा भन्नुु नै उही बाजे थिए । बाजेको मृत्युपछि सुक्रे धनसेर सुब्बाको घरमा हुर्कियो। खान–लाउनको कुनै कमी थिएन ।
उमेरको खुड्किला उक्लदै गर्दा २० वर्षमा पुग्योे । बैवाहिक बन्धनका बाँधियो । धनसेर सुब्बाले नै उसको विवाह गरिदिए ।
टुहुरो बालक सुक्रेले सुब्बा र सुब्बीनीको मायामा परिवारको अभाव कहिल्यै महसुस गरेनन् ।
ऊ गोठमा बस्थ्यो, खाजा बाहिर बसेर खान्थ्यो, थाल–बटुका पनि घर बाहिरै छोड्नुपर्थ्यो । यस्ता व्यवहारले सानैदेखि उसलाई गहिरो असर पुर्याएको थियो। विभेदको गहिरो खाल्डोमा मडारिइरहेको उसको बाल्यकाल जवान हुँदा पनि त्यो खाल्डोबाट उम्बिन सकिरहेका थिएनन् ।
जब बैवाहिक जीवनमा प्रवेश गर्यो, उनले आफूले भोग्दै आएको जीवनको किताबमा अर्काे छुट्टै कथाको पाना थप्ने निर्णय लियो ।
विवाहपछिका दिन सुक्रे पञ्चमी बजारमा सिलाइ पेशा गर्दै बस्न थाल्यो ।
गाउँका साथीहरूसँग अब उसको भेट १५ दिनमा लाग्ने हाटमै मात्र सीमित हुन थाल्यो ।
उसका हातका सिलाइ राम्रो भएकाले गाउँलेहरू उसकैमा कपडा सिलाउन आउँथे।
–––
अब ऊ ७० वर्षको छ । घरको बरन्डामा बसेर सुल्फा तानिरहेको छ । उमेरसँगै बाल्यकाल, गाउँ, साथीभाइ र मेलाको सम्झनाहरू मानसपटलमा खेलिरहेका छन् ।
उसलाई पहिलो त्रिसाली मेलाको सम्झना आयो । ऊ दाजुहरूसँग मेलामा गएको थियो । साँझमा सोल्टिनीहरूसँग धान नाच भइरहेको हेरेको थियो। ऊ आफैँ पनि धान नाच्न जान चाहन्थ्यो, तर जान सकेन ।
मेलाबाट फर्कँदा, बाटोमा उसले सुन्यो– सानो सोल्टीलाई पनि धान नचाउनु र ? उसलाई लाग्यो, समाजले धान नाच्न अयोग्य ठानेको छ । अनुहार लिम्बूजस्तै, भाषा लिम्बू, तर धान नाच्न नपाउने– किन ?
–––
१८ वर्षको बेला मंसिरको जुनेली रात थियो । सुक्रे गोठमा सुतिरहेको थियो । खेतमा काम गरेर थाकेको थियो । दौंतरीहरूले मेलाको कुरा गरिरहँदा अचानक उसले सुन्यो, ‘सुक्रे पनि लिम्बू नै हो नि ।’
यो पहिलो पटक उसले आफ्नै कानले सुनेको थियो तर चुपचाप सुतेको नाटक गरिरह्यो ।
यसपछि खुल्यो रहस्य ।
सुक्रे वास्तवमा जिते तुम्बा र दमाई कान्छीको छोरा हो । दुई जातबीचको प्रेम सम्बन्धको नतिजा– जसले समाजले स्वीकार गर्न सकेन । सुक्रे जन्मँदा दुलही छोरीका लागि स्याहार पनि माग्नुपर्यो । बाजा बजेन । भाले काटिएन ।
दमाई कान्छीले जति माया गरे पनि समाजले त्यो माया हेर्न सकेन । बुझ्न सकेन । अन्ततः दमाई कान्छीको बाटोमै निधन भयो । जसले उनको प्रेमको अन्त्य गयो ।
–––
अब सुक्रे
सुक्रे पञ्चमी बजारमा तालाने कान्छीको पसलमा सुल्फा छाडेर बसेको छ । आज उसले तेजे–जिते मामाको छोरोलाई हेर्दैछ– उसको अनुहार पनि आफ्नै जस्तो लाग्छ । भित्रभित्रै रिस उठ्छ– एउटै अनुहार, एउटै रगत, तर फरक पहिचान ।
जब तालाने कान्छाले ‘जाँठा दमाई’ भन्दै पर बस्न भने ।
सुक्रे बौलायो ।
‘म लिम्बू नै हो, मेरो बाउ लिम्बू हो’ उसले पहिलो पटक स्पष्ट बोल्यो– उसलाई आफ्नो पहिचान चाहिएको थियो । हक चाहिएको थियो ।
सुक्रेनी आइन् । ‘चुप लाग बूढा’ भन्दै घर लैजाने कोसिस गरिन् तर सुक्रे अझै कराइरह्यो– म लिम्बु नै हो ।
तर अन्त्यमा,
सत्य के हो भने, सुक्रे धनसेर सुब्बाको बंशज हो तर कहिल्यै नामै आएन । उसको पहिचान यत्ति बचेको छ– दमाई कान्छीको छोरा । सेते दमाईको नाति ।



















