विराटनगर महानगर : १० महिनामा १ करोड ५५ लाखको इन्धन सकियो

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार १७:३४

विराटनगर । विराटनगर महानगरपालिकाले १० महिनामा १ करोड ५५ लाखभन्दा बढी रकम इन्धन खरिदमा खर्च गरेको छ । पदाधिकारी र कार्यालय प्रयोजनका लागि गत साउनदेखि वैशाखसम्म १ करोड ५५ लाख ३७ हजार ५८८ रुपैयाँ इन्धनमा खर्च गरेको हो ।

उक्त अवधिमा महानगरका पदाधिकारीले मात्रै ५५ लाख ८७ हजार ४ सय ६९ रुपैयाँको इन्धन प्रयोग गरेका छन् । कर्मचारीले कार्यालय प्रयोजनका लागि ९९ लाख ५० हजार ११९ रुपैयाँको इन्धन खर्च गरेका छन् ।

महानगरले कार्यालय प्रयोजनका लागि इन्धन खरिदका लागि १ करोड २५ लाख र पदाधिकारीलाई इन्धन खरिदका लागि मात्रै ६० लाख रुपैयाँ छुट्याएको थियो । १० महिनाको अवधिमा महानगरले सवारी मर्मतका लागि महानगरपालिकाले ९८ लाख २ हजार रुपैयाँ खर्च गरेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा समग्रमा महानगरले १ अर्ब २२ करोड १ लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ । १० महिनाको अवधिमा तलबभत्तामा मात्रै २० करोड ४३ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । पोशाकमा ४१ लाख ९० हजार र कर्मचारी बैठक भत्तामा ९ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ ।

निर्वाचित पदाधिकारीको सुविधाका लागि १ करोड ५३ लाख १८ हजार खर्च भएको छ । पदाधिकारीको बैठक भत्तामा लागि ६ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ ।

अन्य भत्ताको शीर्षकमा २ करोड ११ लाख ५८ हजार १३४ रुपैयाँ खर्च गरेको महानगरपालिकाले करार सेवा शुल्क शीर्षकमा ४ करोड ३९ लाख ५४ हजार १४५ रुपैयाँ खर्च गरेको छ ।

महानगरपालिकाले सडक तथा पुल निर्माणमा १८ करोड १३ लाख ३९ हजार ६०८ रुपैयाँ खर्च गरेको छ । पूर्वाधार निर्माणमा महानगरले ७१ करोड ८४ लाख २८ हजार रपैयाँ बजेट विनियोजन गरेको थियो । अन्य सार्वजनिक निर्माणमा विराटनगर महानगरपालिकाले १ करोड ६६ लाख ९५ हजार ४०२ रुपैयाँ खर्च गरेको छ ।

१० महिनामा विराटनगर महानगरपालिकाले ४२ करोड २० लाख १९ हजार ३७ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । महानगरले सम्पती कर बापत १३ करोड ४३ लाख ७ हजार र मालपोत कर बापत १ करोड २४ लाख ५ हजार १९७ रुपैयाँ आम्दानी गरेको हो ।

गत वर्ष महानगरले ६१ करोड रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा विराटनगरको आम्दानीको लक्ष्य १ अर्ब १० करोड रुपैयाँ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.