
काठमाडौं । यसवर्ष नेपालमा सामान्य मितिभन्दा केही दिन अगावै मनसुन भित्रिने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिलेको मौसमी अवस्थाले असार लाग्नुअघि नै मनसुन भित्रिने सम्भावना देखिएको छ । भारतको केरलामा औसतभन्दा ७ दिनअघि नै मनसुन भित्रिएको छ । त्यसको प्रभाव विस्तारै उत्तरपूर्वतर्फ सर्दै गएको मौसमविद्हरुले बताए । त्यसका आधारमा नेपालमा पनि सामान्यभन्दा चाँडो मनसुन भित्रिने अनुमान गरिएको हो ।
मौसमविद् बिनु महर्जनका अनुसार ठ्याक्कै कुन मितिमा मनसुन नेपाल प्रवेश गर्छ भनेर अहिले नै निर्धारण गर्न सक्ने अवस्था छैन । सामान्यतया जुन १३ (जेठ ३०) मा भित्रिने मनसुन यसपटक केही दिनअघि नै प्रवेश गर्ने सम्भावना रहेको उनले बताइन् । औसतभन्दा छिट्टै भित्रिने निश्चित जस्तै रहेको उनको भनाइ छ ।
भारतको केरलामा यसवर्ष मनसुन मे २४ (जेठ १०) मा नै सुरु भइसकेको छ । सामान्य रूपमा केरलामा मनसुन मे महिनाको अन्तिममा भित्रिने गरेको थियो । केरलाबाट सुरु हुने मनसुन क्रमशः भारतको पूर्वी भाग हुँदै नेपाल प्रवेश गर्ने गरेको छ । केरलामा समयअघि नै भित्रिएकाले नेपालमा पनि चाँडै मनसुन प्रवेश गर्ने संकेत मिलेको हो ।
मनसुन भित्रिएर यसवर्ष नेपालमा छिट्टै वर्षा सुरु हुने पूर्वानुमान गरिएको महर्जनको भनाइ छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै छ । यी मौसम प्रणालीहरू सक्रिय भएले पनि नेपालमा मनसुन सुरु हुन सहज वातावरण बन्न थालेको मौसमविद्हरुको अनुमान छ ।
विभागका अनुसार यसवर्ष विगतभन्दा नेपालसहित दक्षिण एसियाली क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । यसवर्ष गर्मी पनि औसतभन्दा बढी हुने र त्यससँगै जलवाष्पको मात्रा पनि उच्च हुने पूर्वानुमान गरिएको हो । जसका कारण निरन्तर र तीव्र वर्षा हुने पूर्वानुमान गरिएको छ । नेपालमा मनसुनले कूल वार्षिक वर्षाको झन्डै ८० प्रतिशत हिस्सा ओगट्ने गर्छ। विगत केही वर्षदेखि बर्खाको समयमा वर्षाको असामान्य रेकर्डहरू बन्न थालेका छन्।
असामान्य वर्षाले मुलुकका विभिन्न स्थानमा बाढी र डुबानको समस्यामा निम्तिएको थियो । यसवर्ष पनि त्यस्तै खालको मौसमीय रुझान देखिएको हुँदा त्यस्ता विपद्का लागि तयारी गर्न मौसमविद्हरूले सचेत गराएका छन् । गतवर्ष जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । यसवर्ष त्यसअघि नै भित्रिने संकेत मिलेको र खेतीपाती, यातायात, पूर्वाधार तथा जनजीवनमा यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले मनसुनअघि नै आवश्यक योजना बनाएर सतर्कता अपनाउनुपर्ने सुझाव मौसमविद्हरुले दिएका छन् ।

























