मानगढ खानेपानी : २८ वर्षसम्म एकलौटी हालीमुहाली, बल्ल फेरियो नेतृत्व

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ १३, मंगलबार ०८:२०

विराटनगर । विराटनगरमा मानगढ खानेपानीको व्यवस्थापन गर्दै आएको विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नेतृत्व २८ वर्षपछि फेरिएको छ ।

संस्थापक अध्यक्ष रामबहादुर घिमिरेबाट खानेपानीको नेतृत्व खोसिएको हो । नेतृत्व परिवर्तन भएसँगै मानगढमा घिमिरेको एकलौटी हालीमुहाली अन्त्य भएको छ ।

Advertisement

शनिबार भएको निर्वाचनमा लालमणि भट्टराईले उनलाई पराजित गरे । अध्यक्षमा विजयी भएका भट्टराईले १ हजार ८ सय ८९ मत प्राप्त गरेका छन् । अध्यक्षका उम्मेदवार घिमिरेले १ हजार १ सय ५४ र दुर्गा चापागाईंले ६ सय ३५ मत प्राप्त परेका छन् ।

विराटनगरको सबैभन्दा ठूलो खानेपानी आयोजना उपभोक्ताको २० प्रतिशत लगानीसहित जापान सरकारको सहयोगमा २०५४ सालमा निर्माण सुरु गरेर २०६३ सालमा उपभोक्तालाई हस्तान्तरण गरिएको थियो । आयोजनाका करिब ६ हजार घरधुरी उपभोक्ता छन् ।

आयोजना निर्माण सुरु भएदेखि नै रामबहादुर घिमिरे उपभोक्ता समितिका अध्यक्ष थिए । २८ वर्षको नेतृत्व अवधिमा जग्गा तथा आयोजनालाई आवश्यक पर्ने सामग्री खरिद र कर्मचारी नियुक्तिमा मनोमानी गरेको आरोप घिमिरेमाथि लागेको छ । उनले आफूखुसी उपभोक्ता समिति सञ्चालन गर्दै आएका थिए ।

घिमिरेले नियमविपरीत आयोजनाको प्रयोजनका लागि भनेर विराटनगर–३ मा २०८० असारमा २६ धुर जग्गा ८४ लाख रूपैयाँमा खरिद गरेका थिए । चौडाइ १३ फिट र लम्बाइ ८० फिट भएको जग्गा त्रिभुज आकारको छ ।

‘खरिद गरिएको जग्गा त्यसअघि ४१ लाखमा बिक्री गर्न जग्गाधनी तयार थिए । तर, खानेपानी आयोजनाले बिचौलियासँग साँठगाँठ गरेर ८४ लाख मूल्य कायम गरेको पाइयो,’ पूर्वसचिव लीलाप्रसाद काफ्लेले केही समयअघि भनेका थिए, ‘जग्गा खरिदका नाममा दोब्बर बढी मूल्य देखाएर समितिले लाखौं रूपैयाँ भ्रष्टाचार गरेको छ।’

आयोजनाको १६ औं वार्षिक प्रतिवेदनमै ६–७ धुरजति जग्गा नहरमा पर्ने उल्लेख छ । ‘संस्थाको नाममा खरिद गरिएको ८४ लाखको जग्गामध्ये ६–७ धुर नहरमा पर्ने गरी किनेको छु र त्यसको मुआब्जा भारत सरकारले धुरको ६–७ लाखका दरले दिने हुँदा बाँकी जग्गा आयोजनालाई ‘फ्री’ मै प्राप्त हुन्छ,’ घिमिरेको प्रतिवेदनमा भनिएको छ ।

स्रोतका अनुसार मानगढका अधिकांश कर्मचारी पूर्वअध्यक्ष घिमिरेका नातेदार छन् । अध्यक्ष घिमिरे भने खानेपानी आयोजनामा अनियमितता नरहेको जिकिर गर्छन् । ‘खानेपानी आयोजनालाई पारदर्शी र प्रभावकारी हिसाबले सञ्चालन गरिएको छ। कुनै अनियमिता गरिएको छैन,’ केहीसमय अघि उनले भनेका थिए, ‘सर्वसुलभ हिसाबले पानी वितरण गरिएको छ । यहाँ गुनासो गर्नुपर्ने कुनै ठाउँ छैन ।’

अनियमितता आरोप लागेकालाई एमालेको समर्थन

लामो समयदेखि एकलौटी अध्यक्ष बनेर हालीमुहाली गर्दै अनियमितता गरेको आरोप घिमिरेमाथि लाग्यो । तर, उनै अनियमितताको आरोप लागेका घिमिरेलाई सत्तारुढ नेकपा (एमाले)को संस्थापन पक्षले समर्थन गरेको थियो । एमालेले पार्टीको आधिकारिक उम्मेदवारका रूपमा उनको प्रचार गरेको हो ।

एमालेकै इतर पक्ष अर्थात विनोद ढकाल समूहले भने लालमणि भट्टराईलाई उम्मेदवार बनाएको थियो । खानेपानीको अध्यक्षमा एमालेकै विद्रोही उम्मेदवार भट्टराई निर्वाचित भएका हुन् । निर्वाचनले घिमिरेसँग उपभोक्ता असन्तुष्ट थिए भन्ने पुष्टि गरेको छ । एमाले संस्थापन पक्षका उम्मेदवार घिमिरे र नेपाली कांग्रेस उम्मेदवार दुर्गा चापागाईंलाई पराजित गर्दै भट्टराई विजयी भएका हुन् ।

मानगढ खानेपानी आयोजनाअन्तर्गत ५ हजार ९ सय ८८ उपभोक्तामध्ये शनिबार भएको निर्वाचनमा ३ हजार ९ सय ६४ जनाले मतदान गरेका थिए । गतवर्ष मानगढ खानेपानीकै निर्वाचनको विषयले एमाले मोरङमा विवाद चुलिएको थियो ।

संस्थापन पक्षले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै विनोद ढकाल समूहबाट खानेपानीको निर्वाचनमा खटिएका तत्कालीन नगर अध्यक्ष सागर थापा, नवराज नेपाल र उम्मेदवार लालमणि भट्टराईलाई कारबाही गरेको थियो । एमालेभित्रको विवादकै कारण खानेपानी आयोजनाको २०८१ जेठ १९ गते नयाँ नेतृत्वका लागि भएको निर्वाचन भाँडियो ।

यो विवाद निरुपण गर्दै उच्च अदालत विराटनगरले पुनः मतदान गर्नुपर्ने आदेश दियो । मानगढ खानेपानी आयोजनाबाट एमाले मोरङभित्र गुटगत राजनीतिको बीजारोपण भएको थियो । खानेपानी विवादको क्षति एमालेको संस्थापन पक्षले बेहोर्नुपर्ने अवस्था आएको छ ।

पार्टीको जिल्ला अधिवेशन र विराटनगर महानगर अधिवेशनमा पनि इतर पक्ष हाबी भएको थियो । मानगढ खानेपानीमा संस्थापन पक्षका उम्मेदवार घिमिरेकाविरुद्ध लागेको भन्दै कारबाहीमा परेका तत्कालीन महानगर अध्यक्ष सागर थापा एमालेको जिल्ला उपाध्यक्ष निर्वाचित भइसकेका छन् ।

‘एक वर्षअघि मानगढ खानेपानीबाट सुरु भएको विवाद मानगढमै आएर टुंगिएको छ,’ थापाले भने, ‘यसले सन्देश राम्रो दिएको छ ।’ उनले पहिले पनि आफूहरु सही ठाउँमा रहेको सन्देश निर्वाचनको नतिजाले दिएको बताए । सार्वजनिक संस्थामा पार्टीले चरम हस्ताक्षेप गरेको भन्दै एमालेको चौतर्फी आलोचना भएको थियो । मानगढको निर्वाचनले सार्वजनिक संघ संस्थामा पार्टीले हस्तक्षेप गर्न नहुने सन्देश दिएको छ ।

सबै छानबिन हुन्छ

उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष लालमणि भट्टराईले खानेपानीमा भएको अनियमिततालगायतका सबै विषयमा छानबित गर्ने प्रतिबद्धता जनाएका छन् । उपभोक्तालाई सहज रुपमा खानेपानी वितरण गर्ने बताउँदै उनले विगतमा भएका कमीकमजोरीका विषयमा सूक्ष्म रुपमा छानबिन गरिने बताए ।

‘धेरै विषयहरु आएका छन् । यो उपभोक्ताको संस्था हो । सूक्ष्म रूपमा छानबिन गर्छौं । अनियमित भएको देखिए बाहिर ल्याउछौं,’ भट्टराईले भने । उनले उपभोक्तालाई शुद्ध र गुणस्तरीय पानी उपभोग गर्ने वातावरण बनाइने बताएका छन् ।

मानगढ खानेपानीको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
एमाले महाधिवेशन : ओली र पोखरेलको उम्मेदवारी दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.