
विराटनगर । मानगढ खानेपानी आयोजना व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित भएका छन् । नेकपा एमाले संस्थापन पक्ष र नेपाली कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमाले बिद्राेही समूहबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त गरेका छन् ।
वर्तमान अध्यक्ष रामबहादुर घिमिरेले १ हजार १५४ मत प्राप्त गरे । दुर्गा चापागाईँले ६३५ मत प्राप्त गरेकी हुन् । घिमिरे एमाले संस्थापन पक्षका उम्मेदवार हुन् । चापागाईँ कांग्रेसबाट उम्मेदवार बनेकी थिइन् । भट्टराई भने नेकपा एमाले विनाेद ढकाल समूहका उम्मेदवार हुन् ।
खानेपानीको उपभोक्ता समितिको महिला उपाध्यक्षमा सावित्रा पोखरेल निर्वाचित भइन् । खुला उपाध्यक्षमा भोलानाथ घिमिरे निर्वाचित भए ।सचिवमा प्रदीपकुमार नेपाल निर्वाचित भए । कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित भए । मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्ता मध्ये शनिबार भएको निर्वाचनमा ३ हजार ९६४ जनाले मतदान गरेका थिए ।
गत वर्ष मानगढ खानेपानीकै निर्वाचनको विषयले एमाले मोरङमा विवाद मच्चिएको थियो । संस्थापन पक्षले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै विनोद ढकाल समूहबाट खानेपानीको निर्वाचनमा खटिएका तत्कालिन नगर अध्यक्ष सागर थापा, नवराज नेपाल र उम्मेदवार लालमणि भट्टराईलाई कारवाही गरेको थियो ।
एमालेकै विवादका कारण २०८१ जेठ १९ गते नयाँ नेतृत्वका लागि भएको निर्वाचन भाडियाे । याे विवाद निरुपण गर्दै उच्च अदालत विराटनगरले पुन मतदान गर्नुपर्ने फैसला गरेको थियो । मानगढ खानेपानी आयोजनामा भएको विवादको क्षति नेकपा एमालेको संस्थापन पक्षले व्योहोरिरहेको छ । खानेपानीको विवादको असर १० औ मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगर अधिवेशनमा देखिएको थियो ।
गत फागुनमा भएको जिल्ला अधिवेशनमा पार्टीको पदाधिकारीमा ढकाल समूहको प्यानल नै बिजयी भयो । ढकाल समूहका उम्मेदवार अजम्बर राई अध्यक्षमा निर्वाचित हुँदा संस्थापन पक्षका उम्मेदवार राजकुमार ओझा पराजित भए । मानगढ खानेपानीमा संस्थापन पक्षका उम्मेदवार घिमिरेकाविरुद्ध लागेको भन्दै कारवाहीमा परेका तत्कालिन महानगर अध्यक्ष सागर थापा जिल्ला उपाध्यक्ष निर्वाचित भए ।
गत बैशाख २ र ३ गते भएको विराटनगर महानगरको अधिवेशनमा पनि विनोद ढकाल समूह हाबी भयो । महानगरकमिटीको नेतृत्वमा संस्थापन पक्षका रोहित कोइरालाकलाई पराजित गर्दै ढकाल समूहका बलराम गिरी अध्यक्षमा निर्वाचित भए । ‘एक वर्षअघि मानगढ खानेपानीबाट सुरु भएको विवाद मानगढमै आएर टुंगिएको छ,’ तत्कालिन नगर अध्यक्ष समेत रहेका एमाले मोरङ उपाध्यक्ष सागर थापा भन्छन्,‘ सन्देश राम्रो दिएको छ ।’
उनले पहिले पनि आफूहरु सही ठाउँमा रहेको सन्देश निर्वाचन नतिजाले दिएको बताए । नेकपा एमाले नेता विनोद ढकाल भने सार्वजनिक संस्थापनमा पार्टीले हस्तक्षेप गर्न नहुने बताउँछन् । मानगढ खानेपानी आयोजनाको निर्वाचनले सार्वजनिक संघ संस्थामा पार्टीले हस्तक्षेप गर्न नहुने सन्देश दिएको उनले बताए ।


























