
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोडेका छन् ।
उनले ३१ औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । शेर्पा मंगलबार बिहान ४ बजेतिर सगरमाथाको चुचुरोमा पुगेका छन् ।
सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार शेर्पाको यो आरोहण ३१ औं हो । शेर्पा २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए ।
उनी बुधबार सगरमाथा आधार शिविर झर्ने छन् । त्यसपछि काठमाडौं फर्किने बताइएको छ । अघिल्लो वर्ष ३० औं पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पा सफल एवं कीर्तिमानी आरोही हुन् ।

























