
विराटनगर । ज्योतिष वास्तु तथा तन्त्रलाई मर्यादित बनाएर अघि बढ्ने निष्कर्षसहित धनकुटाको भेडेटारमा अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन सकिएको छ ।
तीन दिनसम्म सञ्चालित सम्मेलनमा नेपाल, भारत, बंगलादेश, मलेसिया, हङकङ लगायतका देशबाट आएका ख्यातिप्राप्त ज्योतिषविद्हरु सहभागी थिए । यस्तै, तन्त्र साधक, पण्डित तथा अनुसन्धानकर्ताहरूको सहभागिता थियो ।
विश्व ज्योतिष महासंघको आयोजनामा भएको सम्मेलनको गत शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्धाटन गरेका थिए । सम्मेलनमा ज्योतिषहरुलाई विभिन्न अवार्डद्वारा सम्मान गरिएको थियो ।
सहभागीहरुले आ–आफ्ना देशका परम्परागत तान्त्रिक तथा ज्योतिष पद्धतिबारे अनुभव आदानप्रदान गरेका थिए । ज्योतिष, वास्तु र तन्त्रसँग सम्बन्धित विज्ञबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।
सहभागीले ज्योतिष तथा तन्त्र विद्या मानव जगतको कल्याणकारी भूमिकामा रहेकोले मर्यादित बनाएर अघि बढ्नुपर्नेमा जोड दिएको ज्योतिष जनार्दन आचार्यले जानकारी दिए ।
सम्मेलनमा विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकनाथ पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय समितिका सभापति लक्ष्मण पन्थी, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव बिष्ट, नेपाल ज्योतिष परिषद्का अध्यक्ष कमलप्रसाद काफ्ले लगायतको सहभागिता थियो ।

























