कोशी प्रदेशसभामा संघीय सरकारका गृहमन्त्रीको बचाउ

Share this
726shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ जेठ १३, मंगलबार १५:२६

विराटनगर । नेपाली कांग्रेसका सांसद तथा कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले हाल चर्चामा रहेको भिजिट भिसा प्रकरण, गृहमन्त्रीमाथि भइरहेको आक्षेप, र सामाजिक सञ्जालमा फैलिएको भ्रमबारे आफ्ना धारणा संसदमा प्रस्तुत गरेका छन् ।

कोशी प्रदेशसभाको आज (मंगलबार) बसेको बैठकको शून्य समयमा बोल्दै उनले नैतिकता भन्ने शब्द आजकल अनौठो चरीको नाम जस्तै भएको टिपणी गरे ।

उनले गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै भने, ‘नैतिकता भन्ने चरी जब आफू सत्तामा हुन्छ, त्यो चरी सात समुन्द्रपार उड्छ, जब सत्ताबाट बाहिरिन्छ, फेरि फर्केर आउँछ ।’

भिजिट भिसा प्रकरणको सन्दर्भमा नेपाली कांग्रेस नेता तथा गृहमन्त्रीमाथि गरिएको आक्रमणको प्रयास अस्वीकार्य भएको उनको भनाइ थियो ।

भिजिट भिसा प्रकरणबारे सम्बन्धित मन्त्रालयले छानबिन गरेर विज्ञप्ति नै जारी गरिसकेको उनले स्मरण गराए । उनको भनाई अनुसार सामाजिक सञ्जालको भरमा राजीनामा माग्नुपर्ने हो भने, हरेक गणतन्त्रवादीले कही न कही राजनीतिबाट राजीनामा दिनुपर्ने हुन्छ ।

सांसदले पैसा माग्यो भन्ने गलत भाष्य प्रयोग गर्नु नहुने बताउँदै उनले आफूहरुले व्यक्तिगत लाभका लागि नभएर जनताको विकासमार्फत जनतालाई जोड्ने प्रयास भएको बताए ।

आगामी आर्थिक वर्षका लागि यथार्थपरक बजेट विनियोजन गर्नुपर्ने कार्कीले माग राखे । कृषि क्षेत्रबारे बोल्दै उनले कृषकले मल नपाएको गुनासो गरे । ‘प्रदेश सरकार अहिले नै सक्रिय भएर कृषकलाई मल उपलब्ध गराउन आवश्यक छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.