
काठमाडौं । मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहका निजी सचिव बिनोदकुमार लाल कायस्थलाई भ्रष्टाचारसम्बन्धी अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले जेठ १२ गते साँझ जनकपुरबाट कायस्थलाई नियन्त्रणमा लिएको हो । उनलाई सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरूको नाममा आएको रकम आफ्नो र श्रीमतीको खातामा दाखिला गराएको अभियोगमा पक्राउ गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गराएको देखाई ती समितिहरूको खातामा जम्मा भएको रकम निजी सचिव कायस्थमार्फत झिकाई आफू र परिवारको खातामा स्थानान्तरण गराएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो ।
पक्राउ परेका कायस्थ महोत्तरी जिल्ला, जलेश्वर–१० स्थायी निवासी तथा हाल जनकपुर उपमहानगरपालिका–९, सरस्वती टोल बसोबास गर्ने ६५ वर्षीय व्यक्ति हुन् ।
यस प्रकरणमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।























