‘नेतृत्वको आचरणले नागरिक तहमा प्रश्न उठ्यो’

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार १९:५९

विराटनगर । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले लोकतन्त्र प्राप्ति पछि उल्लेख्य विकास र प्रगति भएको बताएका छन् ।

बुधबार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लोकतन्त्रमा प्रगति व्यापक भएपनि नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा नागरिक तहमा प्रश्न उठ्ने गरेको उनले बताए । ‘ हामीले काम गरेका छौ, राजस्व ४८ सालको भन्दा ११७ गुणा वृद्धि भएको छ, खाद्यान्नको उत्पादन पनि उत्तिकै वृद्धि छ, व्यक्तिगत आय पनि बढेको छ तर असन्तुष्टि चुलिएको छ,’ उनले भने,‘ यसको मूल कारण हाम्रो आचरण हो ।’

नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या रहेको बताउँदै उनले सुधार गरेर अघि बढे निराशा हट्ने बताए ।

कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयताबाट देशले उल्लेख्य प्रगति गरेको बताए । गणतन्त्रका उपलब्धिका विषयमा आम जनतालाई बुझाउनु पर्ने उनले बताए ।

‘राजनीतिक धरातल दार्शनिक धरातल कुनै पनि धरातलले नेपालमा राजतन्त्र स्थापना हुँदैन यसमा कोही लाग्नुको औचित्य छैन, यसको बहस पनि निरर्थक छ,’ उनले भने,‘ अहिलेका मूल राजनीतिक दलहरूले आफ्ना कमजोरीहरू जनता समक्ष राख्दै जनताको हितमा काम गर्नुपर्छ ।’

नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले २०४८ सालमा नेपालीको औसत आयु ५४ वर्ष रहेको र अहिले ७२ वर्ष पुगेको बताए । मानवीय विकासलाई नजरअन्दाज गरिएको उनले बताए । ‘सबै विकासलाई हेर्ने हो भने विश्वका अरु धेरै मुलुकभन्दा हामीले मानवीय विकासमा छिटो प्रगति गरेका छौँ,’ उनले भने ।

मानवीय विकाससँगै साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आयु, सुत्केरी महिलाको मृत्युदर नियन्त्रणमा भएको प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले राजनीतिमा नैतिकता र इमान्दारिताको खाँचो रहेको बताए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उल्लेख्य प्रगतिका बावजुद पनि गणतन्त्रमाथि प्रहार भएकाले त्यसका विविध पक्षमा आम नागरिकमा प्रकाश पार्नको लागि यो कार्यक्रम गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.