
विराटनगर । विराटनगर महानगरपालिका –६ मा खानेपानीकाे फिल्टर ट्रिटमेन्ट प्लान्ट राखिने भएकाे छ । नेपाल खानेपानी संस्थान विराटनगर प्रमुख सन्तोषकुमार रौनियारका अनुसार उपभोक्ताले उपभोग गर्दै आएको खानेपानीमा शुद्धता बढाउन प्लान्ट राख्न लागेको हो ।
प्लान्ट स्थापनापछि वडा नम्बर–६ स्थित सरोचिया क्षेत्रमा खानेपानीको गुणस्तरमा बृद्धि हुने रौनियारले जानकारी दिए। सो क्षेत्रमा खानेपानीमा ठूलोमात्रामा आर्सेनिक रहेको उनको भनाई छ । सोही समस्या निराकरणका लागि संस्थानले आइरन फिल्टर प्लान्ट ट्याङक राख्न लागेको उनको भनाई छ ।
विराटनगर महानगरपालिकाको बोर्ड बैठकले जग्गा उपलब्ध गराएसंगै संस्थानले प्लान्ट स्थापना कार्यलाई अघि बढाएको हो । तर प्लान्ट राख्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
संस्थानका प्रमुख रौनियारले वडा कार्यालयबाट केही समस्या आएको भएपनि छलफल गरि अघि बढ्ने जानकारी दिए । उनले भने, ‘हामीलाई महानगरको बोर्ड बैठकले निर्धारित जमिनमा प्लान्ट स्थापनाका लागि स्थान दिएको छ । हामी सोही स्थानमा प्लान्ट राख्न चाहान्छौ । तर प्रावीधिक कारणले केही समस्या भने उत्पन्न भइरहेको छ । छलफल र संवादबाट हामी निक्र्याैलमा पुग्नेछौ ।’
संस्थानका अनुसार ट्यांकबाट समान २० लिटर प्रतिसेकेण्डको तीव्रतामा खानेपानी शुद्ध हुनेछ ।
वडाका अध्यक्ष अक्षय सहनीले सर्वसाधारणले प्लान्ट राख्न नदिने जनाएपछि आफूले काम रोक्न भनेको बताए । उनले भने, ‘आज प्लान्टका आवश्यक संरचना राख्ने कुरा भएको थियो । हामीले नराख्न भनेका छौं । सरकारी जग्गा भएपनि सो जग्गामा मुद्धा परेको छ ।’
विराटनगर महानगरपालिकाले गत वर्ष असोज २२ गते नगर कार्यपालिकाको बैठकले खानेपानी फिल्टर ट्रिटमेन्ट प्लान्ट निर्माणका लागि संस्थानलाई सहमति दिएको हो । संस्थानका अनुसार महानगरले दिएको सहमति अनुसार प्लान्ट रहने स्थान करिब १५ धुर जग्गा उपभोग गर्न सकिने जनाएको छ ।
सो क्षेत्रमा खानेपानीका करिब ७ सय घरधुरी उपभोक्ता छन् । स्थानीय जनार्दन निरौलाले खानेपानीमा धमिलोपन, लेदो आउने गरेका कारण कपडा धुदाँ मेत पहेलो हुने गरेको गुनासाे गरे । निरौलाले खानेपानीको संरचना निर्माणले उपभोक्तामा सहजता आउने बताए ।

























