
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्रको विकल्प निरंकुशतन्त्र नभएको बताएका छन् ।
१८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार बिहान विराटनगरमा आयोजित प्रभातफेरीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लोकतन्त्रमा भएका कमजोरीलाई सुधार गर्न सकिने स्पष्ट पारे । उनले भने, ‘कमजोरीलाई सुधार गर्न सकिन्छ । तर, लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुन सक्दैन ।’
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यसलाई संरक्षण गर्नुपर्छ । सुदृढ गर्नुपर्छ,’ मन्त्री भण्डारीले भने, ‘लोकतन्त्रमा भएको कमजोरीलाई सुधार गर्न सकिन्छ । तर, लोकतन्त्रको विकल्पमा निरंकुशतन्त्र हुनै सक्दैन । यसको विकल्प लोकतन्त्र नै हो ।’ उनले गणतन्त्रलाई रैतीबाट मुक्ति भएको दिनका रूपमा लिनुपर्ने बताए ।
जनताको छोराछोरीहरुको बलिदानीबाट प्राप्त भएको यस दिनामा महान सहिदहरुको सपना पुरा गर्न दृढ भएर अगाडि बढ्नपर्नेमा उनको जोड छ । ‘आज रैतीबाट मुक्ति भएको दिन । हजारौँ नेपाली जनताको छोराछोरीहरुले बलिदानी दिएको दिन । नेपाली नागरिकले निरंकुशताबाट मुक्त भएको दिन । अब वंशको आधारमा शासक बन्ने र मुलुकलाई पुनः निरंकुशता र सामन्तवादतर्फ लैजाने सम्भावना छैन,’ मन्त्री भण्डारीले भने ।
























