
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले एमालेको भन्दा राप्रपाको जुलुस ठूलो देखिनु युवाहरूमा आएको नैराश्यताको परिणाम भएको बताएका छन् । काठमाडौंमा आज (शुक्रबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिलेको नेताहरूको आचरण लोकतान्त्तिक गणतन्त्रको नभएको पनि बताए ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस र एमालेको जुलुस के थियो भन्ने कुरा छुनुभयो । किन कमजोर भयो ? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरुमा नैराश्यता रहेको छ,’ कोइरालाले भने, ‘उनीहरूले बाटो खोजिरहेका छन् । उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही ४ जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरू कहाँ जाने ? हामीले असल काम गरेर युवाहरुको मन जित्न सक्नुपर्छ ।’
उनले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने बताए । कांग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको उनले दोहोर्याए । सरकारले गरेका असल कामलाई असल र खराबलाई खराब भन्नुपर्ने उनको भनाइ थियो ।
























