पूर्वबाट नेपाल भित्रियो मनसुन, कोशीमा भारी वर्षा

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार ०६:४६

विराटनगर । यस वर्षको मनसुन सरदरभन्दा १५ दिनअघि नै भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वबाट मनसुन प्रवेश गरेको हो । जसले गर्दा आज कोशी प्रदेशका केही स्थानमा वर्षा भएको छ ।

देशमा पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका अधीकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

कोशी र मधेश प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

देशको उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.