
भदौ पूर्णे मेलामा उसले बिन्ति बिसायो
‘धान नाचौँ कि सोल्टिनी ?
मैले सोधेँ–
पाःलाम आउछ र सोल्टी ?
आउँछ नि।…नौ मुरी दश पाथी
ए‘हेन्छाम्मो फेन्जेन् पोतेल्लेआ
पिप्फ्युङ् रेन मिराक पोगेल्लेआ
ए‘आनिइन काप्खेःङ हक्सुङ्बारो
चोक्युम्भो तिम्मक फक्सुङ्बारो
यसरी पाःलामको बाटो हुँदै
उभित्रै पुगेपछि
भन्न मन लाग्यो– ‘तिम्रो पाःलामसँगै जुनी काट्छु सोमिप्पे ।’
ओठ खोल्नै लागेकी थिएँ
चर्काे आवाज आयो– ‘मिराक कमरेड, भागौं ।
ऊ त
पाःलाम भन्दै राष्ट्रिय गीतै बदल्न निस्किएको थिएछ
र, नाम्बिनहाङबाट मिराक हुँदै
आइपुगेछ मसम्म
मैले त सोचेथेँ– उसको निधारमा बेरिएको रातो रुमाल
मलाई बैना ल्याएको हो
भन्नेछ, ‘सोमिप्पे, सँगसँगै तमोर तरीजाउँ’
कुन सपना बोकेर मकहाँ आइपुगेको ऊ
अस्तायो मेरैअघि ।
त्यसपछि मेरो भयो
रातो आहालमा तैरिरहेको त्यो रुमाल
जसलाई टिपेर बाँधे, छरिएका केस
तर, रातो बाटो हुँदै
सेतो घर पुगेका अधिनस्थ पैतालाहरूले
उनको बलिदान कुल्चिँदै गएपछि
बाँधिदिएँ शीरमाथि ।
रातो रुमाल मेरो शीरमा परेपछि
युमाले थुक्मा गरयो–
हरेक क्रान्तिको ज्योति त्यहाँनेर निभ्छ
जब, अँध्यारो रातको साम्राज्य सुरु हुन्छ
र मेटाइदिन्छ इन्द्रेणी रङ्गको अस्तित्व
जसरी निल्यो महेन्द्रमालाले मुन्धुमी अक्षरहरू
बिर्साउँदै लग्यो हाक्पारे ख्याली
र, हरायो मिराकको पाःलाम कै भाका
जसको माङ्गेना उठाउन पनि
‘मिराक’ सल्किनु त पर्छ नै ।
सोमिप्पे…
त्यो रातो रुमाल मेरो शीरैमा छ
बरु थुप्रै रङ्गीन बुट्टा कुँदिएको छ
त्यहि रङ्गहरूमाझ उभिएर
बेस्सरी सम्झेको छु –नौ मुरी दश पाथी ।



















