
जंगे दर्जी गमक्क छन्
जंगे दर्जी मामा खुसी छन्,
हाँसो छ उन्मादमा
गणतन्त्रसँगै
सुब्बेनीको सिकुवामा टेक्न पाए भनेर
फुरुङ्ग छन्, साँच्चिकै ।
आजभोलि त भाँडावर्तन पनि
आफैं धुन्न छोडेका छन् ।
सुब्बेनी हाँस्दै भन्छिन्-
‘ए जंगे, छोड’,
तेरो भतिजी आफैं धुन्छे नि ।
गमक्क पर्दै, दुई हात जोडेर
विगत सम्झन्छस्
हैट…उहिले त म दमाई-
सुब्बाको घरको सिकुवा पनि
टेक्न पाउँदिनथेँ ।
परिवर्तन आएको छ नि
जातको व्यवस्थामा,
सोचमा, सम्मानमा ।
अब त बाली पनि उठाउँदैनन्,
छोरा टेलरिङ गर्छ रे-
माथि जीतपुर बजारमा
हुन त,
बुढ्यौलीले पनि छोएको होला,
तर त्यो मुटु अझै
नयाँ उडानमा छ,
नयाँ जमिनमा टेक्दैछ ।
पाकेको उमेर, चाउरिएको अनुहार,
हिउँजस्तै सेतामे कपाल
यी सबैले पनि
परिवर्तन महसुस गरेका छन् ।
शिशिर यामको कठ्याङ्ग्रिने चिसोमा
खाली खुट्टा हिँड्ने जंगे मामा
आजभोलि त
लेदरको जुत्ताको ओत पाएका छन् ।
उनी लामो सास तानेर
सुब्बेनीको आँगनबाट
डाँडातिर आफ्नो घर नियाल्छन्—
म पनि त जस्ताले छाएको
घरको मालिक पो हुँ ।
तर,
अझै नेता सुध्रिनु बाँकी छ
परिवर्तनका लागि लडेका
मेरो छोरा जस्ता थुप्रै छोराछोरीका
सपना अझै अधुरा छन् ।
कोटको गोजीमा शीरको टोपी राख्दै,
लामो सुस्केरा हाल्छन्
जनयुद्धमा गुमाएको सन्तान सम्झेर
कामना गर्छन् ।
लौरो टेक्दै बरबराउँछन्
जे होस्, सुब्बाले पनि मान्न थालेका छन्,
जनप्रतिनिधि छोरीकी बा पो हुँ म, हैट !



















