
अचेल देउराली
सुनसान छ
उदास छ
एक्लो छ
अचेल देउरालीसँग
बटुवाको सुस्केरा छैन
बिरहीको सुसेली छैन
मायालु जोडीका प्रेमील वार्तालाप छैन
मेलाहाटबाट फर्किनेहरुको पदचाप छैन
अचेल देउरालीसँग
गोठालाहरुले बजाउने पिप्पिरीको धुन छैन
जून टिप्न डौडिएका सहेंलीहरुको गुनगुन् छैन
देउराली छोएर जाने योद्धा
हरायो आगोको लाप्कामा कतै
देउराली ढोगेर जाने परदेशी
अस्तायो समुन्द्रको क्षितिजमा कतै
देउराली भाकेर जाने प्रेमी
पुरियो बालुवाको थुप्रोमा कतै
दुर्भाग्य
देउरालीको ढुङ्गामाथि खोपेर जोडी नाम
देउरालीको देवी अघि साटेर अम्लारी फूल
फेरि भेट्ने वाचा गरेर
छुट्टिएका हामी त
भेटिएनौं कहिल्यै, उही देउरालीमा
अचेल
तल–तल
देउरालीको फेरो काट्ने
सटकले गिज्याइरहन्छ देउरालीलाई
साँच्चै
अचेल देउराली– एक्लो–एक्लो छ
अचेल देउराली– शून्य–शून्य छ
अचेल देउराली– रित्तो–रित्तो छ
अचेल
देउराली हमेसा रोइरहेको हुन्छ ।
–फिदिम, पाँचथर । हालः धनकुटा



















