सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्न निर्देशन

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १८, आइतबार ०९:२६

काठमाडौं । सरकारले सबै सरकारी निकायमा स्वेदशी वस्तु प्रयोग गर्न निर्देशन दिएको छ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न सरकारले यसका लागि सबै निकायमा पत्राचर गरेको छ ।

संघीय सरकारअन्तर्गतका कार्यालयदेखि स्थानीय तहसम्मलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो निर्देशन दिइएको हो ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सरकारी निकायहरूले स्वदेशी वस्तुको उपलब्धअनुसार प्रयोग थालिसकेको जानकारी दिएका छन् ।

स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न तीनवटै सरकारलाई परिपत्र गरिएको उनले बताए ।

निजी क्षेत्रसँग पनि निर्देशिकाको बारेमा छलफल गरेको उल्लेख गर्दै उनले भने, ‘संघीय मन्त्रालयको खरिद प्रक्रियामा संलग्न व्यक्तिलाई राखेर कार्यक्रम पनि गर्यौं । अहिले प्रयोग पनि गर्न थालिसकेका छन् ।’

उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकार र जति पनि सार्वजनिक निकाय छन् सबैले स्वदेशी वस्तु खरिद गर्दा निर्देशिकामा सूचीबद्ध वस्तु १५ प्रतिशत महँगो भए पनि खरिद गर्नुपर्ने भन्ने प्रावधान छ ।

खरिद गरेको, नगरेको सम्बन्धमा आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण हुँदा त्यसमा कुल खरिदको तुलनामा स्वदेशी वस्तु खरिदको अनुपात लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

यसअघि पनि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१ ल्याएको थियो । उक्त निर्देशिकामा १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्नुपर्ने व्यवस्था थियो । तर, सो निर्देशिका १० वर्षसम्म पनि कार्यान्वयन हुन सकेको थिएन ।

उक्त निर्देशिका खारेज गर्दै सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ ल्याएको हो । यो निदेशिकाअनुसार सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग कार्यान्वयनमा आउन थालेको प्रवक्ता बस्नेत दाबी गर्छन् ।

निर्देशिकाअनुसार सार्वजनिक निकायमा कृषि तथा पशुजन्य उत्पादन र खाद्य तथा पेय पदार्थ स्वदेशमा उत्पादित वस्तु नै प्रयोग गरिनु पर्ने उल्लेख छ । जसअन्तर्गत दूध वा दूधजन्य पदार्थ, अण्डा, माछामासु, प्रशोधित तेल, वनस्पति घ्यु, चिया, कफी, अलैँची, अदुवा, मसलाजन्य पदार्थ, सबै प्रकारका फलफूल र जुस, मिनिरल वाटर प्रशोधित पिउने पानी आदि छन् ।

सातु, पीठो, लिटो, बिस्कुट, विशेष गुणयुक्त बिस्कुट, मह आदि पनि स्वदेशी उत्पादन हुनुपर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.