
काठमाडौं । संघीय संसद् सचिवालयले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो ।
सभा नचलेपछि पछि विधेयक पेस गर्ने कार्यसूची संघीय संसद् सचिवालयले परिवर्तन गरेको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतिले पारित गरेको विधेयक मंगलबारको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची तय भइसकेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
विधेयकमा अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको थियो । यी दुई विषयमा विवाद थियो । निजामती कर्मचारी संगठनहरूले यी प्रावधान हटाउन माग गर्दै आएका छन् । मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले हुल बाँधेरै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर सच्याउन माग गरेका थिए ।
विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट मिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् ।

























