बाढीले जलविद्युत् आयोजना र सडक बगायो

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १८, आइतबार १६:०५

संखुवासभा ।  शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका– ३ स्थित हटिया र हुंगुङ क्षेत्रमा सडक बगाएको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ । उनका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ ।

सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । ‘बाढीले आयोजना पूर्ण रूपमा बगाएको छ’, उनले भने ।

त्यस्तै, १२० किलोवाट क्षमताको हुंगुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए । उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए ।

घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन् । ‘सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ’, अध्यक्ष भोटेले जानकारी दिए ।  (रासस)

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.