
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले आज (आइतबार) यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु । तपाईंहरूले देखिराख्नुभएको छ ।’
राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोसिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह पनि गरे ।
‘उनीहरू छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन् । यदि उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्’ प्रचण्डले भने ।
























