कोशी लोकमार्गमा लेउतीको वितण्डा : पहिरो झरेर बन्यो ढिस्को, वर्षौंदेखि नहटाउँदा बग्यो सडक

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ जेष्ठ १८, आइतबार १९:१८

विराटनगर । कोशी लोकमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी र घण्टे बीचको सडक लेउती खोलामा आएको बाढीले बगायो ।

प्रहरीका अनुसार अविरल वर्षासँगै शनिबार बिहानका राति आएको बाढीले लोकमार्गको करिब सय मिटर सडक बगाउँदा दिनभर यातायात अवरुद्ध भएको थियो । खोलालाई पुरानै धारमा फर्काएर मर्मत गर्दै साँझबाट सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । तर, त्यो स्थायी समाधान भने हैन ।

Advertisement

खोलामा बाढी आएर पानीको सतह बढ्यो भने पुनः सडक बगाएर सवारी आवागमन प्रभावित हुने जोखिम उत्तिकै रहेको स्थानीय बताउँछन् । मनसुन सुरु हुनसाथ लेउतीको बाढीले वितण्डा मच्चाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था आएपछि यात्रा पनि असुरक्षित बनेको छ ।

सर्वसाधारण जोखिमपूर्ण हिसाबले यात्रा गर्नुपर्ने बाध्यतामा छन् । लेउतीको बाढीले ३ वर्षअघि पनि त्यही ठाउँमा सडक बगाएको थियो । पुनःनिर्माण गरेर सञ्चालनमा ल्याइयो । तर, अहिले फेरि बगाइदियो ।

करिब ८–९ वर्षअघि पनि उत्तरतर्फ लाबरबोटे भन्ने ठाउँमा लेउतीले सडक बगाएको थियो । पुनःनिर्माण गरेर सडक सञ्चालनमा ल्याइएको थियो । अहिले लाबरबोटेतर्फको सडकमा भने क्षति पुर्याएको छैन ।

बारम्बार लेउती खोलाको बाढीले सडकमा क्षति पुर्याउनुको पछाडि १० वर्षअघिको घटना मुख्य कारक रहेको स्थानीय बताउँछन् । अहिले सडक बगाएको पूर्वतर्फ साँगुरीगढी गाउँपालिका–१ र पश्चिममा साँगुरीगढी–६ पर्छ । साँगुरीगढी–१ र ६ को सिमाना भएर लेउती खोला बग्छ । अलि पर पुगेर तमोर नदीमा मिसिन्छ ।

स्थानीयका अनुसार साँगुरीगढी–१ को बिलेनी सामुदायिक वनबाट करिब १० वर्षअघि सुक्खा पहिरो खसेको थियो । उक्त पहिरोले खोलाको पूर्वतर्फ ठूलो ढिस्को बनायो । ढिस्कोले अवरोध पुर्याएपछि धार परिवर्तन गरेको खोला पश्चिमतर्फबाट बग्न थालेको साँगुरीगढी–१ का वडाध्यक्ष गोविन्द लिम्बूले बताए ।

‘वनबाट सुक्खा पहिरो झरेपछि खोलामा ढिस्को बन्यो । त्यसले खोलालाई असर गर्यो । अनि धार परिवर्तन गरेर खोला पश्चिमतर्फ मोडियो,’ लिम्बू भन्छन्, ‘पश्चिमतर्फ मोडिएको खोलाले लोकमार्गको सडक बगायो । पुरानै धारबाट खोला बग्न पाएको भए सडकमा क्षति हुने थिएन । खोलालाई पुरानै धारमा फर्काउने प्रयास अहिलेसम्म भएको छैन ।’ आगामी दिनमा झन् ठूलो क्षति हुनसक्ने बताउँदै लिम्बूले ३ वर्षअघि पनि लेउतीको बाढीले त्यही ठाउँमा सडक बगाएको र पुनःनिर्माण गरेर सञ्चालनमा ल्याइएको जानकारी दिए ।

‘पूर्वतर्फबाट अर्थात् पुरानै ठाउँबाट बग्न नपाएपछि धार परिवर्तन गरेर पश्चिमतर्फ मोडिएको खोलाले सडक बगाएको हो । ढिस्को हटाएर खोलालाई पुरानै धारमा फर्काउन पाएको भए सडक सुरक्षित हुने थियो । लोकमार्ग अवरुद्ध हुने थिएन,’ उनी भन्छन् । सडकलाई सुरक्षित बनाउनलाई ढिस्को हटाउन बारम्बार आग्रह गर्दा पनि स्थानीय प्रशासनलगायतका सम्बन्धित निकायले चासो नदिएको लिम्बूको भनाइ छ ।

‘ढिस्को पन्छाएको भए खोला पुरानै ठाउँबाट बग्ने थियो । हामीले पटक–पकट आग्रह गर्यौं । स्थानीय प्रशासन र सडक डिभिजनले चाहेको भए तत्काल काम हुन्थ्यो । तर, कसैले वास्ता गरेनन् । लेदो, बालुवा र गेगरानसहितको पहिरोले बनाएको ढिस्को हटाउने स्रोत हामीसँग थिएन । जसका कारण पश्चिमतर्फ मोडिएको खोलाले लोकमार्गको सडक बगाइदियो,’ लिम्बूले भने । उनका अनुसार सडक खोलाको किनारैकिनार गएको छ ।

साँगुरीगढी–६ का वडाध्यक्ष यामप्रकाश मगर (दीपक) लेउतीले विगतदेखि नै बारम्बार सडकमा क्षति पुर्याइरहेको र बाढी आउनसाथ खोलाले सडक बगाउने गरेको बताउँछन् । पूर्वतर्फ पहिरोले बनाएको ढिस्कोका कारण धार परिवर्तन गरेको खोलामा बाढी आउँदा पश्चिमतर्फको सडक बगेको मगर बताउँछन् ।

खोलाको नियम कानुनले ढिस्को हटाउन नसकिएको उनको भनाइ छ । ‘सम्बन्धित निकायलाई हामीले पहिलेदेखि नै जानकारी गराएका हौं । तर, हटाउने पहल भएन । फेरि पनि सडक बनायौं र पहाडजस्तो देखिने त्यो ढिस्को हटाइएन भने खोलाले बगाइदिन्छ,’ मगरले भने । बाढी आएर खोलाको बहाव बढ्दा वरपरका बस्ती र सडक जोखिममा पर्ने उनले बताए ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले धेरै पहिलेको पहिरोले ढिस्को बनाएपछि खोला पश्चिमतर्फ मोडिएको र बाढी आउँदा सडकमा क्षति पुर्याउने गरेको बताए । ‘सडकलाई सुरक्षित बनाउन केही ‘स्पर’ बनाइएको थियो । तर, ‘स्पर’ले बाढी थेग्न सकेन । अनि खोलाले सडक बगाइदियो,’ उनी भन्छन् ।

अब ढिस्को हटाएर खोलालाई पुरानै धारतिर फर्काउँदै सडक सुरक्षित गराउनेतर्फ ध्यान दिइने प्रजिअ पोखरेलले बताए । ढिस्कोले अवरोध गरेका कारण सडक खण्डतिरबाट खोला बग्दा धेरै ठूलो क्षति भएको उनको भनाइ छ । उनका अनुसार खोलाले बगाएको सडकलाई ‘प्रोटेक्सन’ गरेर एकतर्फी सवारीसाधन सञ्चालन गर्ने वातावरण बनाइएको छ ।

प्रजिअ पोखरेलका अनुसार सडक डिभिजन कार्यालय, साँगुरीगढी गाउँपालिका, सुरक्षाकर्मीसमेतको सक्रियतामा सडक ‘प्रोटेक्सन’को काम भइरहेको छ । स्काभेटर, लोडरसमेतका ठूलो औजार प्रयोग गरेर एकतर्फी भएपनि सडक सञ्चालन गरिएको र दुईतर्फी सञ्चालनका लागि काम भइरहेको उनले बताए । उनका अनुसार सडकलाई थप सुरक्षित बनाउन अझै केही दिन लाग्छ ।

सडक एकतर्फी सञ्चालन नहुँदासम्म सुरक्षाकर्मीले डोरी टाँगेर यात्रुलाई पैदल हिँड्ने व्यवस्था मिलाएको जानकारी पोखरेलले दिए । ‘सुरक्षाकर्मीले जोखिम मोलेर काम गरे । डोरी टाँगेर सर्वसाधारणलाई पैदल हिँड्ने व्यवस्था मिलाए । अहिले एकतर्फी भएपनि सडक सञ्चालनमा रहेकाले केही राहत भएको छ,’ उनी भन्छन् ।

प्रजिअ पोखरेलका अनुसार पहिरो झरेर ढिस्को बनेकाले खोलाको धार परिवर्तन भएको कुरा यसअघि जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी नै थिएन । ‘धेरै वर्षअघिको पहिरो रहेछ । त्यसको जानकारी थिएन । बेलैमा थाहा पाउन पाएको भए ढिस्को हटाएर खोलालाई पुरानै धारमा फर्र्काइने थियो । अब त्यसतर्फ पनि ध्यान दिन्छौं । अहिले दुईतर्फी यातायात सञ्चालनका लागि बाटो बनाउने काम भइरहेको छ,’ उनले भने ।

तत्काललाई अस्थायी रूपमा ‘डाइभर्सन’ बनाएर खोलालाई पूर्वतर्फ फर्काउँदै सडकको ‘साइड’बाट यातायातका साधान सञ्चालन गर्ने वातावरण बनाइएको पोखरेलले बताए । फेरि ठूलो पानी परेर बाढी आयो भने राजमार्ग अवरुद्ध हुने जोखिम कायमै रहेको उनको भनाइ छ ।

धनकुटा प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले सम्भावित जोखिमलाई ध्यानमा राखेर घटनास्थल वरपर सुरक्षाकर्मीलाई तैनाथ राखिएको बताए । ‘कुनै समस्या नपरोस् र केही भएमा तत्काल उद्धार गर्न सकियोस् भनेर सुरक्षाकर्मीको टोली परिचालित छ । केही भइहालेमा तत्काल सुरक्षाकर्मीलाई खबर गर्न पनि सबैमा आग्रह गरेका छौं,’ एसपी थापाले भने ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खोलाले बगाएको कोशी लोकमार्गको शनिबार नै निरीक्षण गरेका थिए । कोशी प्रदेश सरकारको तर्फबाट स्थलगत निरीक्षण गर्दै उनले सडक सञ्चालन र त्यसको सुरक्षाका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताए । भण्डारीले सडक खुलाउने विषयमा स्थानीय प्रशासन र सरोकारवाला निकायसँग छलफलसमेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.