
काठमाडौं । राजतन्त्र र हिन्दु राज्य माग्दै आन्दोलन गर्ने क्रममा आज (आइतबार पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित ७ जना रिहा भएका छन् ।
राजावादीले नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनीहरु पक्राउ परेका थिए । प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंहसहित सात जनालाई जिम्मा जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको जनाइएको छ ।
आन्दोलनको क्रममा प्रहरीले थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।
निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । राजावादीको गतिविधिलाई लक्षित गरेर प्रशासनले नारायहिटी दरबार क्षेत्र आसपास र सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोधका कार्यक्रमम गर्न निषेध गरिसकेको छ ।

























