
विराटनगर । यातायात व्यवसायीले आज (सोमबार)देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले सार्वजनिक यातायात बन्द गरेको हो ।
राजावादीकाे बन्द भने फिर्ता भएकाे छ । संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) को लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्दको कार्यक्रम भने फिर्ता भएको छ ।
समितिले संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएका हुन् । आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यातायात व्यावसायीले भने राइड सेयरिङको विरोधमा ग्यारेजमै गाडी थन्क्याएर बस्ने निर्णय गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी गराएका छन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।
आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२–२–१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’

























